फाइल तस्बिर
काठमाडौं- मंसिर ३ गतेबाट हुने सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सुरुआती दुई चरणका सबै खेल दशरथ रंगशालामा हुने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसअघि जारी गरेको तालिकालाई हेरफेर गर्दै नयाँ खेल तालिका सार्वजनिक गरेको छ। जसअन्तर्गत सुरुआती दुई चरणका सबै खेल त्रिपुरेश्वरस्थित रंगशालामा हुने जनाएको छ।
यसअघि एन्फाले आयोजना गरेको 'टाइसिट ड्र' सार्वजनिक कार्यक्रमबाट खेल दशरथ रंगशाला र एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने जनाएको थियो।
शुक्रबारबाट सुरु हुने लिगको उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने उद्घाटन खेल फ्लड लाइटमा खेलाइनेछ। उक्त खेल अपराह्न ४:४५ बजे सुरु हुनेछ।
दोस्रो दिनबाट हरेक दिन दुई खेल हुने छन्। पहिलो खेल १:०० बजे हुनेछ भने दोस्रो खेल ४:४५ बजे हुनेछ।
कूल १४ टोलीले सहभागिता जनाएको प्रतियोगितामा ९१ खेल हुने छन्। लिगको पुछारका दुई टिम रेलिगेसनमा रहँदै बी डिभिजनमा घटुवा हुने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।