काठमाडौं- जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद नाफा ६१ प्रतिशतले बढाएको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८ /७९ को पहिलो तीन महिनाको वित्तीय विवरणअनुसार खुद नाफा बढेको देखिएको हो।
उक्त अवधिमा कम्पनीले तीन करोड ८३ लाख रुपैयाँ खुद नाफा गरे छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा दुई करोड ३७ लाख रुपैयाँ रहेको थियो। जसअनुसार चालु आवमा ६१ प्रतिशतले नाफा बढेको हो।
कम्पनीको खुद बिमा शुल्क आर्जन भने २५.२६ प्रतिशतले घटेको छ। कम्पनीको विवरणअनुसार चालु आवको प्रथम त्रैमाससम्ममा सात करोड २८ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ। जबकि, गत आवको सोही अवधिमा कम्पनीले नौ करोड ७५ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो।
एक अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १० करोड ४७ लाख रुपैयाँ सञ्चिति रहेको विवरणमा उल्लेख छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा पाँच करोड ७२ लाख रुपैयाँ रहेको थियो।
कम्पनीले चालु आवको प्रथम त्रैमास अवधिमा दुई करोड ६८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको जनाएको छ। गत आवको सोही अवधिमा कम्पनीले एक करोड ६५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।