काठमाडौं– प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय बक्सिङ प्रतियोगिता सुरु भएको छ। पाँच दिनसम्म चल्ने उक्त प्रतियोगिताको सोमबार युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतरा ‘अथक’ले उद्घाटन गरे।
नेपाल बक्सिङ संघको आयोजनामा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषद्मा सुरु भएको प्रतियोगिता आगामी मंसिर ३ गतेसम्म सञ्चालन हुनेछ।
उद्घाटन कार्यक्रममा मन्त्री गहतराजले दिवंगत प्रकाश दाहाल निडर र जुझारु स्वभावको व्यक्ति भएको बताए। आफूले निकै नजिकबाट दाहालको जुझारुपन महसुस गरेको बताउँदै मन्त्री गहतराजले खेल क्षेत्र र खेलाडीहरुमा पनि त्यसप्रकारको जुझारुपन आवश्यक रहेको बताए।
सामाजिक रुपान्तरणको मोर्चा हुँदै सगरमाथाको सफल आरोहणसम्मको चरणमा दाहालले ठूलो सामर्थ्य देखाएको स्मरण गर्दै मन्त्री गहतराजले नेपाली खेलक्षेत्रको विकासमा दाहालको भूमिका प्रशंसित रहेको बताए।
फरक प्रसंगमा बोल्दै मन्त्री अथकले समग्र खेलक्षेत्रको विकासका लागि आफू चिन्तित रहेको बताए। खेल क्षेत्रको विकासमा अवरोध पुर्याउने छुट कसैलाई नरहेको उल्लेख गर्दै त्यसखालको प्रवृत्तिलाई हाटाउँदै अगाडि बढ्न आफू प्रतिवद्ध रहेको मन्त्री गहतराजले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।