काठमाडौं- खेलाडी वर्गीकरणको विषयमा असन्तुष्टि जनाउँदै सञ्चारमाध्यममा अभिव्यक्ति दिएका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान)ले स्पष्टीकारण सोधेको छ।
कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले सामाजिक सञ्जालमा एक पत्र पठाउँदै कप्तान मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, अलराउण्डर सोमपाल कामी र तीव्र गतिका बलर कमलसिंह ऐरीसँग स्पष्टीकरण मागेको एक पदाधिकारीले जानकारी दिए।
आगामी बुधबारसम्म लिखित स्पष्टीकरण दिन क्यानले समय दिएको छ। ‘सम्झौतामा रहेका खेलाडीहरू संघलाई नै कमजोर बनाउने किसिमले आफूखुसी मिडियामा अभिव्यक्ति दिएको भन्दै क्यानले खेलाडीहरूलाई स्पष्टीकरण सोध्ने र अगाडिको कारबाही प्रक्रिया बढाउने भनेर पत्र पठाएको छ,’ ती पदाधिकारीले नेपाल लाइभलाई भने।
पत्रमा वर्गीकरणको सम्बन्धमा कप्तान मल्लले असन्तुष्टि जनाएर सचिव मल्ललाई सम्पर्क गरेको पनि जनाइएको छ। यद्यपि, मल्लले कप्तानलाई स्पष्टरूपले ‘यो वर्गीकरण जेठ अन्तिमतिरै गरेको र पूर्णरूपले न्यायसङ्गत गरेको’ जानकारी दिएको पनि बताइएको छ।
यता, कार्यवाहक सचिव मल्लले पनि खेलाडीलाई स्पष्टिकरण सोधिएको स्वीकार गरेका छन्।
‘चार खेलाडीले मिडियामा गएर बोलेपछि त्यस विषयमा के कस्तो कारणले बोल्नु परेको हो भनेर क्यानले सोधेको छ, उनले नेपाल लाइभसँग भने, ‘पत्र पाएको ६ दिनभित्र जवाफ पठाउनू भनेको छौं। उहाँहरुले कस्तो जवाफ दिनु हुन्छ त्यो हेरेर हामी अर्को निर्णय गर्नेछौं।’
क्यानले सार्वजनिक गरेको वर्गीकरणमा खेलाडीहरूको असन्तुष्टि बाहिरै आएको थियो। नयाँ सम्झौतामा सोमपाल कामीलाई ‘बी’ ग्रेडमा राखिएको छ भने रोहितकुमार पौडेल वर्गीकरणमै परेका छैनन्। यता, गुल्सन झा पनि वर्गीकरणमा अटाएका छैनन्।
उता, कमलसिंह ऐरीले आफूलाई ‘सी’ ग्रेडमा राखिएपछि असन्तुष्टि जनाएका थिए।
वर्गीकरणका क्रममा खेलाडीको श्रेणी निर्धारणमा गडबड गरेको भन्दै केही खेलाडीले सम्झौतामा हस्ताक्षर गर्नसमेत अस्वीकार गरेका थिए।
क्यानले सन् २०२१ को सम्झौता वर्षको सुरूमै गर्नुपर्नेमा वर्ष सकिनलाग्दा गरेको थियो।
वर्गीकरणअनुसार ‘ए’ श्रेणीमा रहेका क्रिकेटरले मासिक ५० हजार, ‘बी’ श्रेणीका क्रिकेटरले मासिक ४० हजार र ‘सी’ श्रेणीका क्रिकेटरले मासिक ३० हजार रुपैयाँ पाउँदै आएका छन्।
सुरूमा वर्गीकरणमा ढिलाइ र अहिले खेलाडीको असन्तुष्टिका कारण राष्ट्रिय क्रिकेट खेलाडीले गत मार्चपछिको मासिक तलब पाएका छैनन्। यता, क्यानका ती पदाधिकारीले भने स्पष्टीकरणमा मनपरि भएको आरोप लगाएका छन्। उनका अनुसार वर्गीकरण गत वैशाखमा गरे पनि क्यानको बोर्डले उक्त निर्णय असोजको अन्तिम साता गरेको जानकारी दिए।
‘खेलाडीहरूले असन्तुष्टि जनाएपछि क्यानले स्पष्टीकरण सोधेको कुरा सत्य हो। आफूहरूको गल्ती नहेर्ने, खेलाडीको मात्र गल्ती देख्ने? स्पष्टीकरणमा मनपरी देखिन्छ। वैशाखमै वर्गीकरण गरे पनि असोजमा निर्णय गरेपछि लागू हुने कुरा हो। वर्गीकरणमा नपरेको सबै खेलाडी समेटिनुपर्छ,’ उनले नेपाल लाइभसँग भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।