काठमाडौं– स्विडेनलाई पराजित गर्दै स्पेन सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपमा छनोट भएको छ।युरोपियन छनोटअन्तर्गत आइतबार राति सम्पन्न खेलमा स्पेनले स्विडेनलाई १–० गोलले पराजित गरेको हो।
खेलको अन्तिमतिर अल्भारो मोराटाको गोल नै निर्णायक बन्यो। स्पेनको घरेलु मैदानमा मोराटाले खेलको ८६ औं मिनेटमा ओल्मोको पासमा गोल गरेका थिए।
जितसँगै समूह बी को शीर्ष स्थानमा रहेको स्पेनले ८ खेलमा १९ अंक जोडेको छ। स्विडेन १५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।
यससँगै स्पेन लगातार १२ औं पटक विश्वकपमा छनोट भएको हो। पराजित स्विडेनको समेत प्लेअफमार्फत विश्वकपमा छनोट हुने सम्भावना जीवित छ।
युरोपबाट बेल्जियम, जर्मनी, डेनमार्क र फ्रान्स यसअघि नै विश्वकपमा छनोट भइसकेका छन्। आयोजकका रुपमा कतारले विश्वकप खेल्नेछ भने ब्राजिल पनि छनोट भइसकेको छ।
यसै समूहको अर्को खेलमा ग्रीस र कोसोभोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।