काठमाडौं– कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ मा छनोट हुन पोर्चुगलले प्लेअफ खेल्नुपर्ने भएको छ। सर्वियासँग पराजित भएसँगै पोर्चुगललेविश्वकप छनोटका लागि प्लेअफ खेल्नुपर्ने भएको हो। पोर्चुगललाई सोझै छनोट हुन बराबरीको नतिजा पर्याप्त थियो।
घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा पोर्चुगल सर्वियासँग २–१ ले स्तब्ध भएको हो। पोर्चुगल विश्वकपमा सोझै छनोट हुन असफल भएको हो। जितसँगै सर्वियाले पोर्चुगललाई पछि पार्दै समूह ‘ए’ बाट विश्वकपमा स्थान पक्का गरेको हो।
सर्वियाको जितमा डुसान टाडिक र एलेक्सानडर मित्रोभिकले गोल गरे । रेनाटो सान्चेजको गोल सान्त्वना बन्यो। लिस्वोआमा आइतबार राति भएको खेलमा पोर्चुगलले खेलको दोस्रो मिनेटमा नै रेनाटो सान्चेजको गोलबाट अग्रता लिएको थियो। उनले बर्नाडो सिल्भाको पासमा गोल गरेका थिए।
खेलको ३३औं मिनेटमा डुसान टाडिकले सासा लुकिकको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।
खेलको अन्त्यतिर ९०औं मिनेटमा एलेक्सान्डर मित्रोभिक गोल गर्दै सर्वियाको जित पक्का गर्दा पोर्चुगल घरमै स्तब्ध बन्न पुग्यो।
समूह ‘ए’ मा सर्वियाले ८ खेलबाट २० अंक जोड्यो। पोर्चुगलले १७ अंक जोड्यो। यो समूहमा आयरल्यान्ड र लक्जेमवर्गले समान ९ अंक जोड्दा अजरवैजान १ अंक जोडेर पुछारमा रह्यो।
यही समूहको अर्को खेलमा आयरल्यान्डले लक्जेमवर्गलाई ३–० ले पराजित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।