काठमाडौं- चौथो संस्करणको पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधि सोलुखुम्बुका सुमन कुलुङ राईले जितेका छन्। उपाधिसँगै उनले नगद ५० हजार रुपैयाँ हात पारे।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको चार हजार २०० मिटर उचाइको पाँचपोखरीमा सम्पन्न प्रतियोगितामा कुलुङले निर्धारित दूरी एक घण्टा ५५ मिनेट ५२ सेकेण्डमा पूरा गर्दै पहिलो भएका हुन्। दोस्रो र तेस्रो स्थानमा आर्मीका गोपाल तामाङ र श्रीकास राईले क्रमश दुई घण्टा २९ सेकेण्ड र दुई घण्टा एक मिनेट ४० सेकेण्डमा दौड पूरा गर्दै नगद ३० हजार र २० हजार रुपैयाँ हात पारेका छन्। चौथो र पाँचौं स्थान अर्जुन कुलुङ र तीर्थ तामाङले जितेका छन्।
महिलातर्फ धादिङकी रसिला तामाङ पहिलो भइन्। उनले दुई घण्टा ४४ मिनेट ४३ सेकेण्डमा दौड पूरा गरिन् उपाधिसँगै उनले ५० हजार रुपैयाँ हात पारिन्। सिन्धुपाल्चोककी नितु तामाङले निर्धारित दूरी दुई घण्टा ४६ मिनेट २५ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो स्थान प्राप्त गरिन्। तेस्रो, चौँथो र पाँचौं स्थान क्रमश: प्युठानका संगीता बुढामगर, आश्मा विश्वकर्मा र निर्मला राईले हात पारे।
त्यस्तै, सिन्धुपाल्चोकका सहभागीतर्फ पुरुषमा सञ्च तामाङ र महिलामा नितु तामाङले पहिलो स्थान हात पारेका छन् भने भेट्रान पुरुषतर्फ गोर्खाका भीमबहादुर गुरुङ र महिलामा राधा श्रेष्ठ पहिलो भएका छन्।
जिल्लाको थाङ्पाल गाउँपालिकाको रैथानेश्वरीदेखि सुरु २१ किलोमिटरको म्याराथन चार हजार २०० मिटर उचाइको पाँचपोखरीबाट सुरु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।