काठमाडौं – केलियन एमबाप्पे तथा करिम बेन्जिमाको उत्कृष्ट प्रदर्शनमा फ्रान्सले विश्वकप छनोटमा सहज जित हात पारेको छ। फिफा विश्वकप कतार २०२२ को युरोपेली छनोटअन्तर्गत शनिबार राति घरेलु मैदानमा सम्पन्न खेलमा फ्रान्सले काजकस्तानलाई ८–० को भारी अन्तरले पराजित गरेको हो। जितसँगै फ्रान्सले एक खेल बाँकी छँदै विश्वकपमा स्थान पक्का गरेको हो।
फ्रान्सको जितम एमबाप्पे चार गोल तथा बेन्जिमाको दुई गोल गरेका थिए। खेलमा एड्रिएन राविओट र एन्टोइन ग्रिजमनले पनि समान एक/एक गोल थपे।
विश्वविजेता फ्रान्स कतार विश्वकपमा स्थान बनाउने चौथो टोली हो। जर्मनी, डेनमार्क र ब्राजिलले यसअघि नै विश्वकपमा स्थान बनाइसकेका छन्। आयोजकको हैसियतमा कतार पनि छनोट भइसकेको छ।
एमबाप्पेले पहिलो हाफको ३२ मिनेटभित्रै ह्याट्रिक पूरा गरेका थिए। उनले खेलको छैटौं, १२औं मिनेट र ३२औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्।
खेलको ५५औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै फ्रान्सलाई ४–० को स्थितिमा पुर्याए। ५९औं मिनेटमा बेन्जिमाले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरे। ७५औं मिनेटमा एड्रिएन राविओटले गोल गर्दै फ्रान्सलाई फराकिलो जिततर्फ अघि बढाए । ८४औं मिनेटमा एन्टोइन ग्रिजमनले पेनाल्टीमा गोल गर्दै खेललाई ७–० को स्थितिमा ल्याए।
त्यसको तीन मिनेटपछि एमबाप्पेले व्यक्तिगत चौथो तथा टोलीको लागि आठौं गोल गर्दै फ्रान्सलाई फराकिलो जित दिलाए। यो जितपछि अपराजित रहेको फ्रान्स ७ खेलबाट १५ अंक जोडेर शीर्षस्थानमा यथावत रह्यो। पराजित काजकस्तान ३ अंक जोडेर पुछारमा रह्यो।
यही समूहको अर्काे खेलमा फिनल्यान्डले बोस्निया एन्ड हर्जगोभिनालाई ३–१ ले पराजित गर्दै विश्वकपमा छनोट हुने सम्भावना जीवितै राखेको छ।
जितपछि फिनल्यान्ड ७ खेलबाट ११ अंक जोडेर दोस्रो स्थनमा रहेको छ। बोस्निया ७ अंक जोडेर चौथो स्थानमा रहँदा युक्रेनको ९ अंक छ।
छनोटको अन्तिम खेलमा फिनल्यान्डले फ्रान्ससँग खेल्दैछभने युक्रेनले बोस्नियासँग खेल्दैछ। यो खेलबाट प्ले अफ पुग्ने टोलीको टुंगो लाग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।