सिन्धुपाल्चोक- बाह्रबिसेमामंसिर तेस्रो साता ‘बाह्रबिसे कप’ खुल्ला राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ।
आयोजक बाह्रबिसेको खुर्सानीबारी खेलकुद कभर्डहलले शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सिल्क ग्रुपको प्रायोजन र बाह्रबिसे नगरपालिकाको सहयोगमा सिन्धुपाल्चोक जिल्लाकै हालसम्मको धेरै धनराशी भएको प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो। प्रतियोगिता मंसिर १६ देखि १८ गते सम्म हुने बताइएको छ।
प्रतियोगितामा चार इभेन्ट्स समेटिएको आयोजक खुर्सानीबारी खेलकुद कभर्डहलका अध्यक्ष तथा प्रतियोगिता संयोजक पविन्द्रकुमार श्रेष्ठले बताए।
प्रतियोगितामा ३ सयभन्दा बढी खेलाडीको सहभागिता रहने अनुमान गरिएको छ। प्रतियोगितामा पुरुष एकल, पुरुष डबल्स (शीर्ष एकल २० बाहेक), महिला एकल र भेट्रान्स डबल्स (४५ वर्षमाथि) को इभेन्ट्स समावेश गरिएको छ।
पुरस्कारमा ५ लाख ५० हजार रुपैयाँ रहेको छ। पुरुष डबल्समा राष्ट्रिय वरियताको शीर्ष २० मा रहेका खेलाडीले भाग लिन पाउनेछैनन्।
स्थानिय स्तरको खेलाडीको बाक्लो सहभागिताका लागि एकलतर्फका शीर्ष २० खेलाडीलाई भाग लिन नदिइएको संयोजक श्रेष्ठले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।