काठमाडौं- नेपालकी अभिलाषा विष्ट र अमेरिकाकी तेलर ग्योइत्जले आईटीएफ पाकिस्तान अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को गल्र्स डबल्समा स्वर्ण जितेका छन्।
पाकिस्तानको इस्लामाबादमा भइरहेको प्रतियोगिताको फाइनलमा अभिलाषा र तेलरको जोडीले शुक्रबार रोमानियाकी डारिया स्टेफानिया र नेपालकी सर्वानी श्रेष्ठको जोडीलाई ६–१ र ६–२ को सोझो सेटमा सहजै पराजित गरे।
त्यसअघि विजेता जोडीले सेमिफाइनलमा पाकिस्तानी जोडीमाथि पनि सहज जित निकाल्ने क्रममा ६–० र ६–१ को प्रदर्शन गरेको नेपाल टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन्।
ब्वाइज डबल्समा भने नेपाली जोडीले रजतमा चित्त बुझाए। नेपालबाट आरभसम्राट हाडा र अकि जुवेन रावतले प्रतिस्पर्धा गरेका थिए।
उनीहरुलाई प्रतिस्पर्धात्मक फाइनलमा टर्कीका अहनेट अताबे र आयरल्यान्डका युनेश तलाबारको जोडीले ६–०, ३–६ र ११–९ को सेटमा हराए। सर्किट– १ शनिबारसम्म चल्ने छ। त्यसपछि सर्किट– २ का खेलहरु खेलाइने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।