काठमाडौं– शहीद स्मारक ए डिभिजन लिगका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले टिकट दर निर्धारण गरेको छ।
एन्फाले शुक्रबार दशरथ रंगशालामा पत्रकार सम्मेलन गर्दै साधारणतर्फ १०० र भीआईपीतर्फ ५०० रुपैयाँ टिकट दर तोकिएको जानकारी दिएको हो।
लिगको पहिलो खेल मंसिर ३ गते हुँदैछ। लिग फागुनको दोस्रो सातासम्म चल्ने छ। पहिलो खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लब खेल्नेछन्।
एन्फाका महासचिव इन्द्रमान तुलाधरले साताको अन्त्यमा मात्र खेल हुने र फ्लड लाइटमा खेल खेलाइने जानकारी दिए।
‘हामीले विकेन्ड (सप्ताह अन्त)मा खेल राखेर फुटबल संस्कृति विकास गर्न खोजेका छौं। दर्शकको उपस्थितिलाई ध्यानमा राख्दै फ्लड लाइटमा पनि खेल हुनेछ,’ उनले भने।
रंगशालामा खेलहरु कोभिड प्रोटोकलका साथ पूर्ण दर्शक क्षमतामा हुने उनले जानकारी दिए।
एन्फाले चार रंगशालामा खेल खेलाउने योजना बनाएको छ। तुलाधरका अनुसार लिगका खेल दशरथ रंगशाला, एन्फा कम्प्लेक्स, च्यासल युथ क्लब र मनाङ मर्स्याङ्दी क्लबको घरेलु मैदान पोखरामा खेलाउने योजना छ।
पोखरामा खेल भएको खण्डमा भने लिग लम्बिन सक्ने लिग निर्देशक संजिव मिश्रले जानकारी दिए।
‘पोखरामा पनि केही खेल भए एक साता जति लिग लम्बिन सक्छ। एक क्लबले मात्र भनेर भन्दापनि सबै राजी हुनुपर्छ। मनाङ घरेलु मैदानमा लिग खेलाउन राजी छ। अन्य क्लब माने अन्तिम चरणमा एकै समयमा ४ खेल गर्नुपर्ने अवस्था पनि हुनसक्छ,’ उनले भने।
सिंगल राउन्डको लिगमा १३ चरणका ९१ खेल हुनेछ। यसपटक पुछारका दुई टोली रेलिगेसनमा पर्ने मिश्रले जानकारी दिए। लिग विजेता टोलीले ७५ लाख, उपविजेताले ५० लाख तथा २५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले गोल्डेन बल प्राप्त गर्नेछन्। यस्तै, सर्वाधिक गोलकर्ताले 'गोल्डेन बुट' तथा उत्कृष्ट गोल रक्षकले 'गोल्डेन ग्लोभ्स' प्राप्त गर्ने मिश्रले जानकारी दिए।
यस पटकदेखि 'उदयीमान' खेलाडीले नगद पुरस्कार पनि प्राप्त गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।