काठमाडौं – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा स्पेनले जित हात पारेको छ। स्पेनले ग्रीसमाथि १–० को झिनो जित निकालेको हो।
ग्रीसको घरेलु मैदानमा सम्पन्न खेलमा स्पेनका पाब्लो सारावियाले पहिलो हाफमा गरेको पेनाल्टी गोल नै निर्णायक बन्यो। बिहीबार राति भएको खेलको २६औं मिनेटमा पाब्लो सारावियाले पेनाल्टीमार्फत गोल गरेका थिए।
जितसँगै स्पेन ७ खेलबाट १६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ। समूहकै अर्काे खेलमा जर्जियासँग स्वीडेन २–० ले पराजित बनेको छ। स्वीडेन पराजित भएसँगै स्पेन शीर्षस्थानमा उक्लन सफल भएको हो। पराजित ग्रीस ९ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।
जर्जियासँगको हारपछि स्वीडेन ७ खेलबाट १५ अंक जोडेर दोस्रो स्थानमा झरेको छ। जर्जिया ७ अंक जोडेर चौथो स्थानमा रहेको छ।४ अंक रहेको कोसोभो समूहको पुछारमा छ।
जितसँगै स्पेनले विश्वकपमा सोझै छनोट हुने सम्भावना बलियो बनाएको छ। अब छनोटको अन्तिम खेलमा स्वीडेनसँग बराबरीमा रोकिएपनि स्पेन सोझै विश्वकपमा छनोट हुनेछ। स्पेन र स्वीडेनबीचको खेल आइतबार राति हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।