काठमाडौं– फिफा विश्वकप कतार २०२२ को एसियाली छनोटमा जापान र दक्षिण कोरियाले जित हात पारेका छन्।
समूह ‘बी’ को खेलमा जापानले भियतनाममाथि १–० को जित निकालेको हो। भियतनामको मैदानमा भएको खेलमा जापानको जितमा जुन्या इटोले गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको १७औं मिनेटमा गोल गरेका थिए।
जितपछि जापान ५ खेलबाट ९ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। उसको विश्वकपमा छनोट हुने सम्भावना कायमै छ। पराजित भियतनाम भने अंकविहीन हुँदै पुछारमा छ।
शीर्षस्थानको साउदी अरेबियाको १३ तथा अष्ट्रेलियाको १० अंक छ। यी दुई टोलीले बिहीबार गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। यो समूहमा ओमानको ६ तथा चीनको ३ अंक छ।
समूह ‘ए’ को खेलमा दक्षिण कोरियाले संयुक्त अरब इमिरेट्स (युएईं) लाई १–० ले हराएको छ। ३६औं मिनेटमा हि चान ह्वाङले पेनाल्टीमार्फत गरेको गोल नै कोरियाको जितमा निर्णायक बन्यो।
यही समूहको अर्काे खेलमा इरानले लेवनानमाथि २–१ को जित हात पारेको छ। इरानको जितमा सरदार एजमोउन र अहमद नोउरोलाहीले गोल गरे।
यो नतिजापछि इरान ५ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ भने लेवनान ५ अंकका साथ तेस्रो स्थानमा रहेको छ। दक्षिण कोरिया ११ अंकका साथ दोस्रोमा तथा युएईं ३ अंकका साथ चौथो स्थानमा रहेको छ। एक खेल कम खेलेको इराकको ३ तथा सिरियाको १ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।