काठमाडौं- इंग्लिस प्रिमियर लिगमा ११ खेलमा १० अंक जोडेको एस्टन भिल्ला रेलिगेसन जोनभन्दा दुई स्थान माथि छ। गत २५ सेप्टेम्बरमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेयता भिल्लाले खेलको सबै ५ खेलमा निराशाजनक हार बेहोरेको छ।
लगातारको हारपछि भिल्लाले आफ्नो मुख्य प्रशिक्षक डिन स्मिथलाई बर्खास्त गरेको थियो। स्मिथको अन्तिम खेलमा भिल्लाले साउथह्याम्टनसँग १–० को हार बेहोर्यो।
स्मिथको खाली रहेको स्थानमा भिल्लाले इंग्लिस क्लब लिभपुलका पूर्वकप्तान स्टेभेन जेरार्डलाई नियुक्त गरेको छ। भिल्लाले स्कटिस क्लब रेन्जर्सबाट जेरार्डलाई टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। जेरार्डले झन्डै ४ वर्षको रेन्जर्स बसाईलाई बिट मार्दै प्रिमियर लिगमा फर्किएका छन्।
४१ वर्षीय जेरार्डसँग क्लबले २ वर्ष ६ महिनाको लागि सम्झौता गरेको जनाएको छ। भिल्लाले उनलाई ४८ घन्टाभित्र मुख्य प्रशिक्षकमा नियुक्त गर्नेछन्। जसमा भिल्लाले जेरार्ड र उनका सहायक ग्यारी म्याकअलिस्टरका लागि स्कटिस क्लबसँग झन्डै ४ मिलियन पाउन्ड क्षतिपुर्ति तिरेको बेलायती मिडियाले जनाएका छन्।
जेरार्डले सन् २०१८ को जुनदेखि रेन्जर्सको जिम्मेवारी सम्हाल्दै आइरहेका थिए। उनले रेन्जर्सको प्रशिक्षकको रुपमा १९३ खेल खेलाउँदा १२५ जित हात पारेको छ। यस्तै, ४२ बराबरी र २६ हारको नतिजा निकालेको छ।
उनले क्लबलाई गत सिजन स्कटिस प्रिमियरसिपको उपाधिसमेत जिताएका थिए। जसले च्याम्पियनको रुपमा सेल्टिकको ९ वर्षको अधिपत्य तोडेको थियो।
जेरार्डले सन् १९९८ देखि २०१५ सम्म खेलाडीको रुपमा लिभरपुलमा रहे। त्यसपछि अर्थात् २०१५–१६ को सिजनमा अमेरिकी मेजर लिग सकर टोली एलए ग्यालेक्सीबाट खेले र प्रशिक्षणतर्फ लागे।
उनले सन् २०१४ मा इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट संन्यासको घोषणा गरेका थिए। जेरार्डले १२१ खेलमा २१ अन्तर्राष्ट्रिय गोल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।