फाइल तस्बिर। काठमाडौं- १९औं एसियन गेम्स अर्को वर्ष चीनको हान्जाउमा हुने तय छ। सहभागिता जनाउने अन्य देशले तयारी थालिसके। तर, अन्य देशले सहभागी हुन अभ्यास थालिसक्दा नेपालमा भने सहभागिताको औचित्यमा बल्ल छलफल हुँदै छ।
नजिकिँदै गरेको एसियन गेम्सका लागि तयारी गर्ने वातावरण मिलाइदिन विभिन्न २० खेल संघले बिहीबार युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजलाई आग्रह गरेका छन्।
बिहीबार नेपाल ओलम्पिक कमिटीले सातादोबाटोस्थित कार्यलयमा स्वागत कार्यक्रममा सहभागी संघहरुले मन्त्री गहतराजलाई कोभिडले गर्दा नेपाली खेलाडीको स्तर खस्किएको भन्दै डबल मिहिनेत गर्नुपर्ने भएकाले तयारी अविलम्ब सुरु गर्ने वातावरण मिलाइदिन आग्रह गरेका हुन्।
'नेपाली खेलाडीले अभ्यास गर्ने उचित वातावरण पाएको खण्डमा राम्रो नतिजा ल्याउनेमा म आशावादी छु,' स्वागत कार्यक्रमको आयोजक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठले भने।
उनले नयाँ ऐन र परिवेशलाई समन्वय गर्दै बजेट विनियोजन खेलाडीको पक्षमा भएको अवस्थामा नेपाली खेलकुदको विकास हुने पनि बताए।
यता, विभिन्न संघका पदाधिकारीले राखेको मागलाई सम्बोधन गर्दै मन्त्री गहतराजले सबै संघका पदाधिकारीलाई एसियन गेम्सको तयारी थाल्न आग्रह गरेका छन्।
'८/१० महिनाको समय तयारीका लागि पर्याप्त समय छ। तपाईंहरु अभ्यास तत्कालै थाल्नुस्, पदक जित्ने गरि तयारी थाल्नुस्,' उनले भने।
उनले खेल क्षेत्रको बजेटलाई कुपोषणको संज्ञा दिँदै यसले खेल क्षेत्रको विकास गर्न नसकिने तर्क गरे।
उनले भने,'खान दिने तर, थोरै खान दिँदा कुपोषण हुने भएकाले खेलकुदको बजेट पनि एकदमै थोरै रहेछ। यसले खेल क्षेत्रको विकास गर्न सकिँदैन। यसलाई बढाउनका लागि मैले अर्थमन्त्री र मन्त्रिपरिषद्मा पनि छलफल गरिरहेको छु। आशा गरौं केही सकारात्मक नतिजा आउँछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।