काठमाडौं- आसन्न सहिद स्मारक ए डिभिजन लिगको मिति ४ दिन पर सारिएको छ। कार्तिक २९ गते सुरु हुने भनिएको लिग अब मंसिर ३ बाट सुरु हुने भएको हो।
अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरका अनुसार क्लबहरुकै सल्लाहमा मिति सारिएको हो।
‘क्लबहरूसँगको सल्लाहमा अनुसार सप्ताहको अन्तिम तीन दिन लिगका खेल गर्ने भएपछि मिति केही दिन सरेको हो। प्रत्यक्ष प्रशारणको तयारीका लागि केही दिन टिभीले समेत मागेको छ। हप्तामा एक राउण्ड मात्र बिदाको दिन खेल हुनेछ ,’ महासचिव तुलाधरले नेपाल लाइभलाई भने।
उनका अनुसार अब लिगका खेलहरु शुक्रबार, शनिबार र आइतबार मात्र खेलिने छ।
खेल तालिकामा अब मिति मात्र परिवर्तन हुने उनले बताए। एन्फाले यसअघि नै तालिका निर्धारण गरिसकेको छ।
एन्फाको अनुसार अर्को शुक्रबार मात्र लिग सुरु हुनेछ। उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लब भिड्ने छन्। १४ टिमको सहभागीता रहने लिगमा १३ राउण्डको ९१ खेलबाट विजेता टुंगो लाग्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।