काठमाडौं- पेरिस सेन्ट जर्मेन (पीएसजी)की मिडफिल्डर अमिन्टा डायलोलाई प्रहरीले पक्राउ गरेको छ।
आफ्नै क्लबको साथी खेलाडीमाथि कुटपिट गरेको आरोपमा फ्रेन्च प्रहरीले बुधबार उनलाई अनुसन्धानका लागि पक्राउ गरेको हो।
वुमन च्याम्पियन्स लिग खेलेको भोलिपल्ट बुधबार उनलाई प्रहरीले हिरासतमा लिएको क्लबले पुष्टि गरेको छ। उक्त खेलमा पीएसजीले स्पेनिस क्लब रियल मड्रिडलाई ४–० ले हराएको थियो।
फ्रान्सको राष्ट्रिय खेलाडी समेत रहेकी अमिन्टा मड्रिडमाथि जित निकालेको टोलीमा समेत थिइन्।
प्रहरीले उनलाई पीएसजीकै अर्की मिडफिल्डर खेरा हामरालीलाई कुटपिट गरेर घाइते बनाएको आरोपमा पक्राउ गरेको जनाएको छ।
हामरालीलाई उनको कारबाट घिसार्दै बाहिर निकालेर खुट्टामा प्रहार गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। उनको हात र खुट्टामा गम्भीर चोट लाग्ने गरी फलामको रडले प्रहार गरिएको प्रहरीको दाबी छ।
प्रहरीले हामरालीमाथि प्रहार गर्ने दुईजनाले मास्क लगाएको पाइएको जनाएको छ।
पक्राउ परेकी अमिन्टाले फ्रान्सका लागि ७ क्याप जितेकी छिन्। सन् २०१६ मा पीएसजी आएकी उनले क्लबका लागि ६० खेल खेलेकी छिन्।
गत सिजन उनी लोनमा एट्लेटिको मड्रिडबाट फेन्च क्लब पुगेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।