काठमाडौं- कैलालीको लम्कीचुहा नगरपालिका-१ का २२ वर्षीय युवक भुपेन्द्र बडुवालको हत्या घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेका ८ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।
मंगलबार राति टीकापुर नगरपालिका-१ को सिद्धार्थ होटल नजिक खुकुरी प्रहारबाट बडुवालको मृत्यु भएको थियो।
बडुवालको हत्या भएपछि अनुसन्धानका लागि ८ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विश्व अधिकारीले नेपाललाइभलाई जानकारी दिए।
पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-३ बस्ने २० वर्षीय आर्यन देवकोटा, २४ वर्षीय महेश रावल, २० वर्षीय धिरज शाही, लम्कीचुहा नगरपालिका-१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ र १८ वर्षीय निशान मल्ल रहेका छन्।
यस्तै, टिकापुर नगरपालिका-१ बस्ने २३ वर्षीय प्रविन रिमाल, २१ वर्षीय रोहित आले र २६ वर्षीय सोहन शाह पक्राउ परेका छन्।
घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टिकापुरबाट प्रहरी टोली परिचालन गरी बडुवाललाई उपचारको लागि टिकापुर अस्पताल लगिएको थियो। तर, बडुवालको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनास्थलबाट प्रहरीले सुदूरपश्चिम प्रदेशमा दर्ता भएको प्र ०१००८ प ५५६५ नं को कालो रङको होन्डा कम्पनिको स्कुटी नियन्त्रणमा लिएको छ।
पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान सुरू गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।