काठमाडौं– कैलालीको लम्कीचुहा नगरपालिका–१ का २२ वर्षीय युवक भुपेन्द्र बडुवालको हत्या घटनामा संलग्न भएको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।
मंगलबार राति टीकापुर नगरपालिका–१ को सिद्धार्थ होटल नजिक चक्कु प्रहारबाट बडुवालको मृत्यु भएको थियो। चक्कु प्रहारबाट बडुवालको हत्या भएपछि अनुसन्धानका लागि ८ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विश्व अधिकारीले नेपाललाइभलाई जानकारी दिए।
एसपी अधिकारीका अनुसार पक्राउ पर्नेमा नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालयका मेजर अशोकजंग शाहीसँग विवाद पर्ने संगम होटलका सञ्चालकसहित ८ जना छन्। उक्त होटलका सञ्चलक हर्कबहादुर रावल र उनका छोरा महेश, श्रीमतीसहित ८ जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरीकाे भनाइ छ।
हर्कबहादुरका छोरा महेशले प्रयोग गर्ने स्कुटर घटनास्थलमा भेटिएपछि उनीहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको एसपी अधिकारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।