काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसपटकको सहिद स्मारक ए डिभिजन लिग चार मैदानमा खेलाउने तयारी गरेको छ।
जसअन्तर्गत मनाङ मर्स्याङदीले घरेलु मैदानको रुपमा पोखरा रंगशालालाई प्रयोग गरेको छ। यदि लिगका खेल पोखरा रंगशालामा आयोजना हुनसके ए डिभिजन लिगका खेल उपत्यका भन्दा पनि बाहिर हुनेछ।
कात्तिक २९ गतेदेखी नेपाली फुटबलको सबै भन्दा ठूलो प्रतियोगिता ए डिभिजन लिग आयोजना हुँदै छ। अघिल्ला संस्करण दुई मैदानमा आयोजना भएको लिग यसपटक भने चार रंगशालामा हुँदै छ।
यद्यपि, सुरुआती दुई चरणको खेल तालिका मात्र सार्वजनिक भएको छ। जसमा त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र एन्फा टेक्निकल सेन्टरमा खेल हुँदैछन्।
अन्य चरणका खेलका लागि भने एन्फाले च्यासल मैदान र मनाङ मर्स्याङदीले घरेलु मैदानको रुपमा प्रस्ताव गरेको पोखरा रंगशाला हुँदै छ।
सोही अनुसार मनाङले पोखरा रंगशालामा तयारी पनि गर्दै आएको छ। पोखरा रंगशालाई प्रयोग गर्नका लागि एन्फासँग छलफल भइरहेको मनाङका अध्यक्ष विजयी घले बताए।
कात्तिक २९ गतेबाट हुने लिगको उद्घाटन खेलमा यसै सिजन बढुवा भएको सातादोबाटो युथ क्लबले फ्रेन्ड्सँग प्रतिस्पर्धा गर्दैछन्। उद्घाटन खेल ‘फ्लड लाईट’ मा खेलाउने एन्फाको तयारी छ। सुरुवाती दुई चरणका खेलमध्ये आधा खेल दशरथ रंगशालामा हुनेछन्।
पोखरा रंगशालालाई मनाङले घरेलु मैदानको रुपमा प्रयोग गर्न यस अघि नै स्वीकृती पाइसकेको छ। त्यसैले मनाङले काठमाडौंदेखि क्लबहरुलाई पोखरासम्म लैजाने र खेलाएर काठमाडौं पठाउने प्रबन्धका लागि एन्फासँग छलफल भइरहेको बताएको छ।
यद्यपि, अन्तिम तालिका सार्वजनिक नभएसम्म मनाङको प्रस्ताव अपूरो हुनेछ। फागुन १४ गते सम्म सञ्चालन हुने लिगमा १४ टोलीले सहभागिता जनाउँदै छन् भने दुई टोली रेलिगेशनमा घटुवा हुनेछन्। १३ चरणका खेल हुने लिगमा कुल ९१ खेल हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।