काठमाडौं- तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ सीओएएस पाकिस्तान ओपन इन्टरनेसनल जी वान तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट निर्णायक घोषित भएका छन्।
नोभेम्बर ६ देखि ८ तारिखसम्म पाकिस्तानको इस्लामावादमा भएको प्रतियोगितामा नेपालबाट ६ सहित करिब ५० निर्णायकको सहभागिता रहेको बताइएको छ। चार वटा एरिनामा खेल खेलाइएकोमा समग्रमा उत्कृष्ट निर्णायक घोषित भएको श्रेष्ठले जनाएका छन्।
नेपालबाट प्रतियोगितामा श्रेष्ठसहित अशोक खड्का, मिन न्यौपाने, रविन्द्र मल्ल, जितसिंह लामा र दीपेन्द्र ढकालले निर्णायकको भूमिका निर्वाह गरेका थिए। श्रेष्ठ यसअघि २०१९ को जुलाइमा जोर्डनमा भएको एसियाली तेक्वान्दो च्याम्पियनसिपमा पनि उत्कृष्ट निर्णायक चुनिएका थिए।
श्रेष्ठ १३औं दक्षिण एसियाली खेलकुद (साग) को नेपाली तेक्वान्दो टोलीका मुख्य प्रशिक्षक पनि हुन्। उक्त सागको तेक्वान्दोमा नेपालले १२ स्वर्ण, ६ रजत र ११ कांस्य पदक जितेको थियो।
२७ खेल समावेश सागमा नेपाललाई सबै भन्दा बढी पदक दिलाउने खेल तेक्वान्दो हो। पाकिस्तानको प्रतियोगितामा ६ खेलाडी तथा समान १–१ प्रशिक्षक र अफिसियल पनि नेपालबाट सहभागी भएका थिए। सबै खेलाडी पदकविहीन रहे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।