काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले फरवार्ड नवयुग श्रेष्ठको स्वास्थ लाभको कामना गरेका छन्।
गत साता सहिद स्मारक ए डिभिजन लिगको तयारीस्वरूप ब्रिगेड बोइज क्लबसँग खेलिएको वार्मअप खेलमा आर्मीका फरवार्ड नवयुगको दायाँ खुट्टाको घुडाँमा चोट लागेको थियो। चोटपश्चात चिकित्सकसँगको परामर्शमा शल्यक्रिया गर्नुपर्ने देखिएको नवयुगले बताएका छन्।
उनले आसन्न ए डिभिजन लिग गुमाउने सम्भावना देखिएको छ। प्रशिक्षक अल्मुताइरीले उनी चाँडै मैदान फर्किने विश्वास गरेका छन्।
उनले समाजिक सञ्जालमा नवयुगको तस्बिर राख्दै भनेका छन्, ‘तिमी बलियो भएर फर्किनेछौं।’
आर्मीका मुख्य प्रशिक्षक नविन न्यौपानेले पनि नवयुगको माइनर इन्जुरीको शल्यक्रिया गर्नुपर्ने देखिएको बताए।
‘सुरुमा उनको चोट सामान्य लागेको थियो, तर हस्पिटलमा परीक्षण गराउँदा उनको माइनर इन्जुरीको शन्यक्रिया नै गर्नुपर्ने सल्लाह चिकित्सकले दिएका छन्। उनी कम्तिमा पनि चार हप्ता मैदान बाहिर रहनुपर्ने बताइएको छ,’ न्यौपानेले भने।
राष्ट्रिय टिमको सदस्य समेत रहेका नवयुग आर्मी टोलीको महत्त्वूर्ण सदस्य हुन्।
शल्यक्रियापछि अवस्था सामान्य भएको खण्डमा उनले लिगको अन्तिम खेलहरु खेल्न सक्नेछन् न्यौपानेले बताए।
उनले नवयुगको स्थानमा फरवार्ड भरत खवास, जर्जप्रिन्स कार्की र सुदिन थापामध्ये एकलाई खेलाउने योजना बनाएका छन्।
बुधबार आर्मीको लगनखेलस्थित मैदानमा ए डिभिजनको तयारीस्वरूप च्यासल युवा क्लबसँग भएको खेलमा पनि उनले कप्तान खवास र कार्कीलाई खेलाएका थिए।
आर्मीलाई यस सिजन उपाधि दाबेदारको रूपमा हेरिएको छ।
यही कार्तिक २९ गतेबाट सुरू हुने लिगमा मंसिर २ गते अर्को विभागिय टोली नेपाल पुलिस क्लबविरुद्ध खेल्दै आर्मीले सिजनको सुरूवात गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।