तस्बिर : एन्फा।
काठमाडौं– ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिता अन्तर्गत मंगलबार भएका खेलमा विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन्।
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न भएको खेलमा ललितपुरले मोफसलको टोली झापाको शिवताक्षी नगरपालिकालाई ४–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो। सुरुआतबाट नै हाबी भएको ललितपुरले पहिलो हाफमा गरेका चार गोल नै जितका लागि पर्याप्त भएका थिए।
ललितपुरले अन्तिम चारमा स्थान बनाउने क्रममा कप्तान निर्मला बिकले ह्याट्रिक गरिन्। निर्मलाले छैटौं मिनेटमा गोल गर्दै अग्रता निकाल्दा २२औं मिनेटमा दोस्रो र ३५औं मिनेटमा व्यक्तिगत तेस्रो गोल थप्दै ह्याट्रिक पूरा गरेकी थिइन्।
यस्तै, मनिसा सेनले ४३औं मिनेटमा चौंथो गोल गर्दै टोलीलाई पहिलो हाफमा ४–० को अग्रता दिलाउन सफल भइन्। त्यसपछि दोस्रो हाफतिर लम्किएको खेलमा दुवै टोलीबाट थप गोल हुन सकेन र ललितपुरले अन्तिम चारमा स्थान पक्का गर्यो।
छनोट खेल अन्तर्गत आजै सम्पन्न दोस्रो खेलमा कैलालीको धनगढी उपमहानगरपालिकाले बर्दियाको बाँसगढी नगरपालिकामाथि गोलको वर्षा गर्दै अन्तिम चारमा स्थान बनायो।
धनगढीले बाँसगढीमाथि १२–१ को फराकिलो जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। फराकिलो जित निकाल्ने क्रममा धनगढीले पहिलो हाफमा ७ तथा दोस्रो हाफमा ५ गोल थपेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।