काठमाडौं- जाडोको सिजन सुरु भएसँगै भाइरल रुघाखोकीको समस्या बढ्न सक्ने भन्दै चिकित्सकहरुले सचेत गराएका छन्।
काठमाडौंसहित देशभर चिसोको मौसम सुरु भएसँगै चिकित्सकहरुले भाइरल रुघाखोकीको समस्या बढ्न सक्ने भन्दै त्यसतर्फ सचेत रहन आग्रह गरेका हुन्।
मंगलबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका कन्सलट्यान्ट फिजिसियन डा. आलोक ढुंगेलले चिसो मौसम बढेकोले बालबच्चा, वृद्धवृद्धा, सुत्केरी र दीर्घरोगीहरुले स्वास्थ्य सतर्कता अपनाउनुपर्ने बताए। उनले अहिलेको मौसम कोरोनासँगै फ्लूको संक्रमण बढी हुने भएकोले यसले श्वासप्रश्वासमा समस्या आउने बताए।
कन्सलट्यान्ट फिजिसियन डा. ढुंगेलले चिसोबाट जोगिने, तातो र न्यानो कपडा लगाउने, बाहिर नहिँड्ने, धुवाँ र धुलोबाट बच्ने, मर्निङ वाकमा ननिस्कने लगायतका सावधानीका उपाय अपनाउन आग्रह गरे।
त्यस्तै, उनले यस्ता फ्लूहरुबाट बच्न रुघाखोकी लागेका मानिसहरुबाट टाढै रहन, मास्कको प्रयोग गर्न, जथाभावी नाक, कान, मुख नचलाउन पनि आग्रह गरे। उनले यस्ता भाइरसबाट बच्नका लागि झोलिलो खानेकुरा खान र भ्याक्सिन अनिवार्य लगाउनु पर्ने पनि बताए।
‘जसरी हामीले कोभिडमा गरिरहेका थियौँ, अहिले यो इन्फ्लूएन्जाको फ्लूको लागि गर्ने पनि त्यही नै हो। योसँगै अरु पनि भाइरसहरु डिनो, राइनो भाइरसहरु जसले बच्चाहरुमा धेरै रुघाखोकी गराउँछ, तिनीहरु पनि सक्रिय हुने बेला हो अहिले’, उनले भने, ‘त्यसैले सबै उमेर समुदायकाहरुले भाइरसबाट बच्न जरुरी छ। विशेषगरी बालबच्चा, वृद्धवृद्धा, सुत्केरी र दीर्घरोगीहरुले जोगिनुपर्छ।’
डा. ढुंगेलले सबै नागरिकहरुले मौसमी रुघाखोकीबाट जोगिने उपायलाई आफ्नो पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए। उनले कोभिड–१९ का बेला गरिरहेका आचरणहरुलाई प्रयोगमा ल्याइराख्नाले पनि मौसमी भाइरल रुघाखोकीबाट बच्न सकिने जानकारी दिए।
उनले २०२२ का लागि नयाँ इन्फ्लूएन्जाको भ्याक्सिन आउन लागेको बताउँदै कोभिडबिरुद्धको भ्याक्सिनको दुई डोज लगाउनेहरुले इन्फ्लूएन्जाको भ्याक्सिन चिकित्सकको सल्लाह बमोजिम लगाउन मिल्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।