काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगका लागि ललितपुरको च्यासल युथ क्लबले यू-२३ राष्ट्रिय टिमका कप्तान अर्पण कार्की र भारतीय खेलाडी सेम मार्टनलाई अनुबन्ध गरेको छ।
च्यासलले सोमबार उनीहरुलाई अनुबन्ध गरेको हो। २१ वर्षीय गोलकिपर अर्पणको कप्तानीमा नेपाल यू-२३ टिमले केही समयअघि ताजिकिस्तानमा एएफसी यू-२३ एसियन कप छनोट खेलेको थियो।
अर्पणको कप्तानीमा नेपालले सन् २०१७ मा भुटानमा भएको यु(१९ साफको उपाधि उचालेको थियो।उनी नेपालमा २०१९ मा भएको दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता पनि हुन्।
उनले माल्दिभ्समा जेजे स्पोर्टस क्लब र भुटानमा पारो एफसीबाट लिग खेलेका छन्। यस्तै नेपालमा नेपाल पुलिस क्लबबाट घरेलु लिग पनि खेलेका छन्।
अर्का खेलाडी मार्टन भारत केरलाका खेलाडी हुन्। च्यासलले दक्षिण एसियाली साफ कोटामा मार्टनलाई अनुबन्ध गरेको हो। भारतीय प्रथम डिभिजनको आई लिग च्याम्पियन रहेका २६ वर्षीय मार्टनलाई च्यासलले चेन्नाइ सिटी फुटबल क्लबबाट भित्र्याएको हो। मार्टनसँग एएफसी कपको पनि अनुभव रहेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा यो सिजन ए डिभिजन लिग यही कात्तिक २९ गतेदेखि सुरु हुँदैछ।
च्यासलले यसअघि नै साविक विजेता मछिन्द्र क्लबका कप्तान विराज महर्जन, मनाङ मर्स्याङ्दी क्लबका कप्तान कमल श्रेष्ठलाई अनुबन्ध गरिसकेको छ।
यता, विदेशी कोटामा नेपाली मूलका इटालियन खेलाडी विकास मेराग्लिया तथा क्यामरुनका केत्चा यानिक र माउसा अबागानालाई अनुबन्ध गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।