काठमाडौं- कतारी क्लब अल साद छोडेका जाभी हर्नानडेजलाई क्याटलान क्लब बार्सिलोनाले आफ्नो मुख्य प्रशिक्षकमा औपचारिक रुपमा भित्र्याएको छ।
बार्सिलोनाका लिजेण्ड खेलाडी जाभीलाई सोमबार क्लबको घरेलु मैदान क्याम्प नाउमा दर्शकका अगाडी प्रस्तुत गरिएको हो।
यस सिजन स्पेनिस लिग ला लिगाको ९औं स्थानमा रहेको बार्सिलोनाले केही समयअघि आफ्नो मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको थियो। उनी बर्खास्तमा परेसँगै बार्सिलोनाले क्लबकै ‘बि’ टिमका प्रशिक्षक सार्गी बारजुअनलाई अन्तरिम प्रशिक्षक बनाएको थियो।
उनले पनि बार्सिलोनालाई सुखद् नतिजा दिलाउन सकेनन्। उनले प्रशिक्षक रहँदा नै बार्सिलोनाका मुख्य खेलाडी सबै घाइते भएको भन्दै तत्कालै राम्रो नतिजा ल्याउन नसक्ने अभिव्यक्ति दिएका थिए। यद्यपि, उनी बार्सिलोनाकै नेतृत्वमा रहँदा जाभीलाई भित्र्याउन क्लबले अल सादसँग वार्ता गरिरहेको थियो।
जाभीलाई प्रशिक्षकको रुपमा प्रस्तुत गर्ने समारोहमा बार्सिलोनाका पूर्वप्रशिक्षक एवं म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डीओला पनि उपस्थित रहेका थिए।
बार्सिलोनामा समर्थकहरुले गरेको स्वागतबाट आफू भावुक बनेको बताउँदै जाभीले घर फर्किन पाउँदा खुशी लागेको बताए।
‘बार्सिलोना विश्वकै उत्कृष्ट क्लब हो। म घरमा फर्किएको छु। घरमा फर्किन पाउँदा निकै खुशी छु,’ उनले भने।
उनले मंगलबारबाटै प्रशिक्षण सुरु गर्ने बताएका छन्। ‘भोलिदेखि हामीले काम सुरु गर्ने छौं। हामीले बार्सिलोनाको लक्ष्य अनुसार काम गर्ने छौं,’ उनले भने,‘बार्सिलोनाले मलाई धेरै कुरा सिकाएको छ। मेरो अनुभवलाई क्लबको हितमा प्रयोग गर्ने छु।’
जाभीले लिओनल मेसीले पनि आफूलाई सन्देश पठाएको जानकारी दिँदै अहिले क्लबमा नभएका पूर्वखेलाडीको कुरा गर्नुको कुनै अर्थ नभएको बताए।
जाभीले बार्सिलोनामा २५ ट्रफी जितेका छन्। १९९७ देखि २०१५ सम्म बार्सिलोनामा खेलेका जाभीले ८ ला लिगा र च्याम्पियन्स लिगको उपाधिसमेत जितेका थिए।
जाभीले बार्सिलोनाका लागि ७६७ खेल खेल्दै ८५ गोल र १८५ गोल असिस्ट गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।