काठमाडौं– इलामको रोङ गाउँपालिका र झापाको कनकाई नगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा जित निकाल्दै क्वार्टरफाइनल प्रवेश गरेका छन्।
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भएका खेलमा दाङको तुलसीपुर उपमहानगरपालिकालाई ४–१ ले पराजित गर्दै रोङले क्वार्टरफाइनलको यात्रा तय गरेको हो।
रोङको जितमा इन्दिरा राईले ह्याट्रिक र कप्तान अनिता राईले १ गोल गरे। तुलसीपुरकी ममता पुन मगरले सान्तवना गोल फर्काइन्। खेलमा प्लेयर अफ दि म्याच रोङकी इन्दिरा राई चुनिइन।
समुह ईको बिजेताको रुपमा नकाउट चरण प्रवेश गरेको रोङले बुधबार कैलालीको गौरीगंगा नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ। पराजयसँगै तुलसीपुरको यात्रा समाप्त भएको छ। तुलसीपुर समूह एफको विजेताको रुपमा नकाउट चरणमा प्रवेश गरेको थियो।
छनोट खेल अन्तर्गत सोमबार नै सम्पन्न अर्को खेलमा कनकाई नगरपालिका झापाले सुनकोशी नगरपालिका सिन्धुपाल्चोकलाई पेनाल्टी सुटआउटमा हराउँदै अन्तिम आठमा स्थान बनाएको हो। पेनाल्टी सुटआउटमा कनकाइले सुनकोशीलाई ३–१ गोलले हराएको हो।
निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो। जित निकालेको कनकाइले क्वार्टरफाइनलको खेलमा कैलालीको गोदावरी नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगिताको बिजेता र उपबिजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेन्। प्रतियोगितामा भोलि पनि दुई खेल हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।