काठमाडौं- मङ्सिर तेस्रो साता प्रथम हाई अल्टिच्युड माउण्टेन बाइक च्यालेञ्ज आयोजना हुने भएको छ।
सोमबार आयोजक प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश तथा जिल्ला साइक्लिङ संघ रसुवाले संयुक्त पत्रकार सम्मेलन गर्दै पहिलो संस्करणको हाई अल्टिच्युड माउण्टेन बाइक च्यालेञ्ज मङ्सिर १८ गते आयोजना गर्ने बताएको हो।
तीन विधामा आयोजना हुने प्रतियोगिताको इलिटतर्फ मात्रै महिलाको सहभागिता रहँदा पुरुषतर्फ इलिट, जुनियर र मास्टर गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ। जिल्ला साइक्लिङ संघ रसुवाले प्रतियोगिताको रुटसमेत तय गरेको छ।
बाइक च्यालेञ्ज कालिका गाउँपालिकाको सहिद गेट कालिकास्थानबाट सुरु भइ घुम्तीबजार, लामाटोल, गुम्बाडाँडा, स्याउबारी हुँदै नौकुण्ड गाउँपालिका, लोकिल, आरुखर्क, गामु, सर्स्युङ, किमार्जोङ, साल्चेत र जिवजिव हुँदै ३५ किलोमिटर पार गर्दै कालिका हिमालय क्याम्पसम्म पुगेर टुङ्गिनेछ।
प्रतियोगिता आयोजनाको लागि प्रदेश खेलकुद विकास परिषद् र जिल्ला साइक्लिङ संघ रसुवाबीच आजै सम्झौतापत्रमा पनि हस्ताक्षर भएको छ। जसअन्तर्गत प्रतियोगिता आयोजना गर्न प्रदेश खेलकुद परिषद्ले जिल्लालाई १० लाख रुपैयाँ उपलब्ध गराउनेछ।
आयोजकले खुल्ला प्रतियोगितामा १५० जना प्रतिस्पर्धी सहभागी हुने जनाएको छ। प्रतियोगिताको सम्पूर्ण खर्च प्रदेश खेलकुद विकास परिषद्ले बेहोर्नेछ।
प्रतियोगिताको इलिटतर्फको प्रथमदेखि दशौंसम्मको विजेताले ४० हजार, २० हजार, १५ हजार, सात हजार, छ हजार, पाँच हजार, चार हजार, तीन हजार, दुई हजार र एक हजार रुपैयाँ प्राप्त गर्नेछ। यस विधामा महिला तथा पुरुष दुवैको सहभागिता रहनेछ।
यस्तै मास्टर र जुनियरतर्फको प्रथमदेखि तृतीयसम्मको विजेताले १५ हजार, १० हजार र सात हजार रुपैयाँ पाउने भएको छ। प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले साहसिक खेल आयोजना गर्न प्रदेशले छुट्टै कार्यक्रम ल्याएको र त्यसअन्तर्गत यस प्रतियोगिता परेकोसमेत जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।