म्याग्दी– बेनी नगरपालिका–१ रत्नेचौरमा धौलागिरि क्षेत्रकै ठूलो खेलमैदान बनाउन पूर्वाधार निर्माण सुरु भएको छ। बेनी नगरपालिका र युवा तथा खेलकुद मन्त्रालयले रत्नेचौरस्थित बुढोचौर खेलमैदान सम्माएर प्याराफिट, स्टेज, भवन र घेराबार निर्माण गरेका हुन्।
पछिल्लो चार वर्षमा रु ९० लाख लगानी भएको खेलमैदान स्तरोन्नति गर्न चालु आर्थिक वर्षमा सङ्घीय सरकारबाट थप रु दश लाख विनियोजन भएको वडाध्यक्ष टेकबहादुर रावलले बताए।
गत वर्ष विनियोजन भएको रु सात लाख बजेटबाट निर्माण भएको खेलमैदान परिसरको दुईकोठे सामुदायिक भवन आइतबार सांसद भूपेन्द्र थापाले उद्घाटन गरे।
गत वर्ष प्राप्त १० लाख बजेटमध्ये सात लाखले दुई कोठे भवन, रु एक लाख ५० हजारले नाली निर्माण र रु एक लाख ५० हजारले खेलमैदान सम्माउने काम भएको थियो। आर्थिक वर्ष २०७६/७७ मा ५० लाख बजेटबाट खेलमैदानको डिलतर्फ पाँच तह भएको ६० मिटर लम्बाइ र २.७० मिटर चौडाइको प्याराफिट बनाइएको थियो।
प्याराफिटमाथि १० फिट अग्लो तारजालीसमेत लगाइएको छ। आव २०७५/७६ मा २० लाखको लागतमा खेलमैदान परिसरमा मञ्च निर्माण भएको थियो। आव २०७४/७५ मा बेनी नगरपालिकाको रु दश लाख लागतमा २०० मिटर तारजाली लगाइएको थियो। हाल १६० मिटर लम्बाइ र १०० मिटर चौडाइ भएको खेलमैदानलाई अझै विस्तार गर्न सकिने जग्गा छ।
सो खेलमैदानमा फुटबलका साथै एथलेटिक्स र दौड प्रतियोगिता सञ्चालन गर्न सकिन्छ। बागलुङ, म्याग्दी र पर्वतको पायक पर्ने ठाउँ भएकाले रत्नेचौर खेलमैदानमा पूर्वाधार भएमा ठूला खेल प्रतियोगिता सञ्चालन गर्न सकिने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।