काठमाडौं– इन्जुरी समयमा दुई गोल खाएपछि एट्लेटिको मड्रिड भ्यालेन्सियासँग बराबरीमा रोकिएको छ। स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति सम्पन्न खेलमा एट्लेटिको मड्रिड भ्यालेन्सियाको मैदानमा ३–३ गोलको बराबरीमा रोकिएको हो।
एट्लेटिकोले लुइस स्वारेजको गोलबाट खेलको ३५औं मिनेटमा अग्रता लिएको थियो। ५०औं मिनेटमा एट्लेटिकोका स्टेफन साभिचले गरेको आत्मघाती गोलमा भ्यालेन्सियाले बराबरी गर्यो।
खेलको ५८औं मिनेटमा एन्टोइन ग्रिजमनले गरेको गोलबाट एट्लेटिकोले पुनः अग्रता लियो। ६०औं मिनेटमा सिमे भरसालजिकोले अर्को गोल थपेपछि एट्लेटिकोले ३–१ ले स्थितिमा पुगेको थियो।
इन्जुरी समयमा सम्हालिन नसक्दा एट्लेटिकोले दुई अंक गुमायो। सात मिनेट इन्जुरी समयको दोस्रो मिनेटमा ह्युगो डुरोले गोलअन्तर कम गरे। अन्तिम मिनेटमा डुरोले नै अर्को गोल थपेपछि घरेलु टोली भ्यालेन्सिया बराबरी गर्न सफल भयो।
बराबरीमा रोकिएपछि एट्लेटिकोले दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ। १२ खेलबाट २३ अंक जोडेको एट्लेटिको चौथो स्थानमा छ। जुन शीर्ष स्थानको रियाल मड्रिडभन्दा चार अंकले पछाडि हो। दोस्रो स्थानको रियाल सोसिडाडको २५ अंक छ। भ्यालेन्सिया भने १७ अंकका साथ १०औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।