फाइल तस्बिर
काठमाडौं- कात्तिक २९ गतेदेखि आयोजना हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा यसै सिजन बढुवा भएको सातदोबाटो युथ क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुँदै छ।
अघिल्ला संस्करण दुई मैदानमा आयोजना भएको लिग अब भने चार वटा मैदानमा खेलाइने भएको छ। मनाङ मर्स्याङ्दी फुटबल क्लबले पोखराको रंगशालालाई घरेलु मैदान बनाउँदै छ भने च्यासल मैदान पनि लिगका लागि प्रयोग गर्ने योजना आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ।
नेपाली फुटबलको मेरुदण्ड मानिएको सहिद स्मारक ‘ए’ डिभिजन लिग कात्तिक २९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उद्घाटन हुँदै छ। पहिलो खेल यसै सिजन बढुवा भएको सातादोबाटो युथ क्लबले फ्रेण्ड्स सँग प्रतिस्पर्धा गर्दा दशरथ रंगशालामा उद्घाटन समारोह हुनेछ। उद्घाटन खेल ‘फ्लड लाइट’मा खेलाउने तालिका बनाएको एन्फाले दशरथ रंगशालाबाहेक एन्फा टेक्निकल सेन्टर, च्यासल मैदान र मनाङ मर्स्याङ्दीले प्रस्ताव गरेको पोखरा रंगशालामा खेलाउनसक्ने बताएको छ।
दशरथ रंगशालमा उद्घाटन हुने खेल साँझ ५ बजे सुरु हुनेछ। २०७२ को भूकम्पपछि बनेको नयाँ रंगशालामा उद्घाटन खेलबाहेक अन्य खेल भने दिउँसो ३ बजे हुने छन्। काठमाडौंको मध्य भागमा रहेको रंगशालामा १३औं दक्षिण एसियाली खेलकुद भइसकेको छ भने केही अन्तर्राष्ट्रिय खेल पनि सम्पन्न भएका छन्। सुरुआती दुई चरणका तालिका मात्र सार्वजनिक भएको मध्येमा दशरथ रंगशालाका अलावा एन्फा तेक्निकल सेन्टरमा तोकिएको छ।
एन्फा टेक्निकल सेन्टरमा आयोजना हुने पहिलो खेलमा कात्तिक ३० गते हिमालयन शेर्पा र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल दिनको १२ बजे हुनेछ। एन्फा टेक्निकल सेन्टरमा अहिले केही टोलीले मैत्रीपूर्ण खेल खेलेका छन्। जुन प्रिसिजन अघिको अभ्यास खेलको रुपमा व्याख्या गरिएको छ। तेस्रो चरणको खेलमा च्यासलमा गराउने लक्ष्य राखेको एन्फामा केही प्राविधिक काम भने बाँकी नै छ। मैदानमा गोलपोस्ट बनाउने र मैदानभित्र खेल क्षेत्रको लाइन बनाउने काम बाँकी नै छ।
यस्तै चौथो खेल स्थलको रुपमा पोखरा रंगशाला पनि प्रयोग आउने एन्फाले जनाएको छ। जसलाई मनाङ मर्स्याङ्दी क्लबले घरेलु मैदानको रुपमा प्रयोग गर्ने योजनामा छ। सोहीअनुसार तालिका बनाउनुपर्ने भएकाले दुई चरणका खेललाई मात्र खेल स्थल, मिति र समय तोकिएको हो।
कोरोनाका कारण सीमित दर्शक उपस्थिति हुँदै आएको मैदानमा नयाँ सिजनको खेलमा दर्शकलाई अनुमति दिने जनाएको छ। फागुन १४ गतेसम्म सञ्चालन हुने लिगमा १४ टोलीले सहभागिता जनाउँदै छन् भने दुई टोली रेलिगेसनमा घटुवा हुने छन्। लिगमा कूल १३ चरण र ९१ खेल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।