काठमाडौं– क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगमा खराब नतिजाको लयलाई शनिबार पनि निरन्तरता दिएको छ। सेल्टा भिगोको मैदानमा पहिलो हाफमा ३-० गोलको अग्रता लिएको बार्सिलोना ३-३ गोलको बराबरीमा रोकिएको हो।
गत साता प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेपछि लयमा फर्कन प्रयासरत टोली केही रक्षात्मक भएको फाइदा उठाउँदै सेल्टा भिगोले बराबरीमा रोकेको हो।
यस नतिजासँगै बार्सिलोना १२ खेलमा १७ अंक जोड्दै नवौं स्थानमा यथावत् छ। कोम्यानको बर्खास्तीपछि सर्जी बारजुआन कार्यवाहक प्रशिक्षकको जिम्मेवारी निभाएका थिए। उनले क्लबका मुख्य खेलाडी घाइते भएका कारण अहिल्यै नै बार्सिलोनाले राम्रो नतिजा निकाल्न नसक्ने बताएका थिए।
उनका अनुसार मुख्य खेलाडी घाइते हुनु नै बार्सिलोनाको लागि चिन्ताको विषय हो। यसका बाबजुद केही खेलाडीलाई भने उनले मैदान उत्रिने मौका दिएका छैनन्। त्यसमध्ये एक हुन्, फिलिपो कोउटिन्हो।
बारजुआनका अनुसार यी ब्राजिली खेलाडी मैदान प्रवेशका लागि फिट देखिएका छैनन्। शनिबार राति पनि उनलाई दोस्रो हाफमा मैदान छिराउने प्रयास गरिएको थियो। तर, उनी फिट नरहेको थाहा पाएपछि उनलाई मैदान प्रवेश गर्न रोकिएको थियो।
स्पेनिस खेलकुद अनलाइन मार्काका अनुसार युवा फरवार्ड अन्सु फाती चोटका कारण दोस्रो हाफमा मैदान उत्रेनन्। फाती घाइते भएपछि उनको स्थानमा मैदानमा प्रवेशका लागि सबैभन्दा उपयुक्त खेलाडी यिनै कोउटिन्हो मानिएको थियो।
बारजुआनले उनलाई वार्म अपका लागि निर्देशन पनि दिएका थिए। तर, वार्म अपका बेला उनी निकै सुस्त देखिए र उनलाई मैदानमा प्रवेशका लागि अवसर नै दिइएन्।
लिभरपुलबाट महँगो मूल्यमा बार्सिलोना भित्रिएका कोउटिन्हो लयमा रहेका छैनन्। बार्सिलोनाका लागि उनी सधैं 'बोझ' मात्र रहेका छन्। एक सिजन जर्मन क्लब बार्यन म्युनिखमा समेत लोनमा खेलर फर्किएका उनी त्यसपश्चात प्राय: बेञ्चमै रहेका छन्।
बार्सिलोनामा उपयुक्त अवशर नपाएको महसुस गरेका उनी फेरि इंग्लिस प्रिमियर लिग फर्किने कुराले पनि बजार तातेको छ। उनको अबको गन्तब्य न्युकासल युनाइटेड हुनसक्ने स्पेनिस मिडियाहरुले बताइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।