काठमाडौं– फ्रेन्च लिग वान फुटबलमा पीएसजीले जित हात पारेको छ। शनिबार राति सम्पन्न खेलमा पीएसजीले बोर्डोमाथि ३–२ को जित निकालेको हो।
पीएसजी लियोनल मेस्सी बिना नै मैदान उत्रिएको थियो। उनी घुँडाको चोटबाट मैदानबाहिर रहेका छन्।
पीएसजीको जितमा नेयमारले दुई तथा केलियन एम्बाप्पेले एक गोल गरे। खेलमा २६औं मिनेटमा पीएसजीले नेमायरको गोलमा अग्रता लिएको थियो। केलियन एम्बाप्पेको पासमा नेयमारले गोल गरेका थिए। पहिलो हाफको अन्तिमतिर एम्बाप्पेकै पासमा नेयमारले दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर बनाए।
खेलको ६३औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई ३–० को स्थितिमा पुर्याएका थिए। त्यसपछि घरेलु टोली बोर्डोले दुई गोल फर्कायो।
खेलको ७८ औं मिनेटमा अल्बर्थ इलिसले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने कोशिश गरेका थिए। खेलको इन्जुरी समयमा मबेय नियाङले गोल गरे पनि हार टार्न सकेनन्।
जितसँगै पीएसजीले दोस्रो स्थानको लेन्ससँग १० अंकको स्पष्ट अग्रता बनाएको छ। शीर्ष स्थानको पीएसजीको ३४ अंक भएको छ। बोर्डो १२ अंक सहित रेलिगेशन जोनभन्दा दुई स्थान मात्र माथि छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।