काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाले आफ्ना चर्चित पूर्वमिडफिल्डर जाभी हर्नान्डेजलाई नयाँ मुख्य प्रशिक्षकमा नियुक्त गर्ने पक्का भएको छ।
स्काई स्पोर्टसका पूर्व खेल पत्रकार फाब्रिजियो रोमानोले कतारस्थित अदल साद क्लबको सम्हालिरहेका जाभीलाई भित्र्याएको घोषणा क्लबले गर्न लागेको जानकारी दिएका हुन्।
उनका अनुसार जाभी सादलाई सिजनको बीचमै छाडेर क्याम नोउ फर्किने कुरामा सहमति जुटेको छ। यता, जाभीले पनि आफू बार्सिलोना फर्किन आतुर रहेको बताएका छन्। उनले यसै सिजन मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने बताइएको छ।
जाभीलाई यो सिजन खराब लयमा गुज्रिरहेको बार्सिलोनाले केही दिनभित्रै मुख्य प्रशिक्षकका रुपमा स्वागत गर्ने फाब्रिजियोले बताएका छन्।
पछिल्लो समय समस्याग्रस्त बार्सिलोनाले रोनाल्ड कोयम्यानको स्थानमा सेर्जी बारजुआनलाई अन्तरिम प्रशिक्षकको रुपमा नियुक्त गरेको थियो। स्पेनिस ला लिगामा बार्सिलोनाले लगातार खराब प्रदर्शन गरिरहेको छ। बार्सिलोना अहिले ला लिगाको नवौं स्थानमा छ।
यस्तो अवस्थामा जाभीलाई कतारी क्लब अल सादले सिजनको बीचमा छाड्न तयार भएको हो। यसबारेमा क्लबले औपचारिक वक्तव्य निकाल्ने फाब्रिजियोले बताएका छन्।
जाभीबारे अल साद र बार्सिलोनाबीच औपचारिक सहमति भएको बताउँदै पत्रकार उनले दुवैले यसको घोषणा गर्न लागेको बताएका छन्।
सन् २०१९ मा खेलाडी जीवनबाट सन्यास लिएका जाभीको नेतृत्वमा अल सादले गत वर्ष कतारी लिग जितेको थियो। उनको प्रशिक्षणमा यो सिजन टिम ३६ खेलयता अपराजित छ। उनी अल सादमा पछिल्लो चार वर्षदेखि छन्।
जाभीले बार्सिलोनाका लागि सन् १९९८ देखि २०१५ सम्म खेलेका थिए। यसक्रममा उनले ७ सय ७९ खेल खेले। उनले बार्सिलोनाका लागि २५ वटा उपाधि जितेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।