काठमाडौं– कात्तिक शुक्ल प्रतिपदा आजबाट नेपाल संवत् ११४२ सुरु भएको छ। कात्तिक शुक्ल प्रतिपदालाई नेवार समुदायले नयाँ वर्षको रुपमा मनाउँदैछन्।
राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गराएका थिए।
लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरका अनुसार नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको थियो।
'लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो,' मानन्धरले भने।
२००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको हो। गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सरकारले साख्वा:लाई राष्टिय विभूति घोषणा गरेको थियो।
२०६५ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को सरकारले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेको थियो। काठमाडौं उपत्यकामा अझै पनि कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात् गर्ने परम्परा रहेको छ।
नेवार समुदायमा आज 'न्हूदँया भिन्तुना' (नयाँ वर्षको शुभकामना आदान प्रदान) गरि जातीय एकता र साझा पुर्ख्यौली मौलिक संस्कृतीका रुपमा विकास भएको म्ह:पूजालाई आ–आफ्नो परम्परागत चलन अनुसार हर्षोल्लासपूर्ण रुपमा मनाइन्छ।
मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउछन्। आत्म सन्तुष्ट बनाइ खुसी राख्न सके देवी देवता पनि प्रसन्न भइ आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।