काठमाडौं- शनिबार घरेलु मैदानमा डिपोर्टिभो एलाभेससँग १–१ गोलको बराबरी खेल्दै सर्गी बारजुआनले पहिलोपटक बार्सिलोनाको 'ए' टोलीको जिम्मेवारी सम्हालेका थिए।
मुख्य प्रशिक्षक रोनाल्डो कोम्यानलाई बर्खास्त गरेको बार्सिलोनाले अर्को निर्णय नहुँदासम्म 'बी' टिमका प्रशिक्षक बारजुआनलाई अन्तरिम प्रशिक्षक बनाएको हो। तर, उनको सुरुआत पनि आशालाग्दो हुन नसकेको बार्सिलोना बोर्डले बताइसकेको छ।
हुन त क्याटालान क्लब बार्सिलोनाले यो सिजनको राम्रो सुरुआत गरेको छैन र धेरै सुधार गर्नुपर्ने देखिएको छ। जुन सुधार बारजुआनले गर्न सक्ने बार्सिलोना बोर्डले देखेको छैन।
बार्सिलोना अझै पनि कोम्यानको स्थानमा आफ्नो पूर्वमिडफिल्डर जाभी हर्नान्डेजलाई भित्र्याउन चाहान्छ। तर, कतारी क्लब अल सदा उनलाई सम्झौता अवधि अगाडि छाड्न अनिच्छुक देखिएको छ।
उनी बार्सिलोना नफर्किँदासम्म बारजुआन मुख्यप्रशिक्षक हुनुपर्ने हो। तर, उनले आफू स्पेनिस ला लिगा अन्तर्गत शनिबार सेल्टा भिगोविरुद्धको खेलमा टोलीमा रहने वा नरहने टुङ्गो लागिनसकेको बताएका छन्।
उनको यो भनाइसँगै बार्सिलोना बोर्ड उनीसँग खुशी नरहेको बुझिएको छ। उनले यसअगाडि पनि बार्सिलोनाका मुख्य खेलाडी चोटका कारण फिट नभएको भन्दै अहिल्यै नै सोचेअनुरुप नतिजा निकाल्न नसक्ने स्पष्ट पारेको थिए। यद्यपि, उनले मंगलबार सम्पन्न भएको खेलमा खेलाडी छनोट गरेर मात्रै मैदान उतार्ने बताएका थिए।
उनको यो कादमले कति काम गर्यो त थाहा छैन,यद्यपि, बार्सिलोनाले सेर्गीको प्रशिक्षणमा मंगलबार पहिलो जित हात पारेको छ।
च्याम्पियन्स लिग अन्तर्गत समूह 'ई' मा बार्सिलोनाले डाइनामो किभलाई हराएको हो। खेलपछि पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उनले अबका आउने दिनमा आफ्नो भविष्य भगवानको हातमा रहेको बताए।
'अर्को खेलसम्म म बार्सिलोनाको प्रशिक्षक रहन्छु वा रहन्न थाहा छैन। तर, म जुन दिनसम्म टोलीको प्रशिक्षणमा रहन्छु, म सधैं क्लबलाई सहयोग गर्न तयार छु,' उनले भने,'शनिबार सेल्टा भिगोविरुद्धको खेलमा म टोलीको प्रशिक्षणमा रहन्छु वा रहन्न भगवानलाई मात्र थाहा छ।'
उनले डाइनामो किभविरुद्धको जित टोलीको दबाब कम गर्न महत्वपूर्ण रहेको समेत बताए। यसबारे खेलाडीहरुलाई आगामी खेलहरुमा हौसला प्रदान हुने बारजुआनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।