काठमाडौं- अलिबाबा समूहको दराज अनलाइन सपिङले वर्षकै सबैभन्दा ठूलो एक दिवसीय सेल घोषणा गरेको छ। कात्तिक २५ गते (नोभेम्बर ११) हुने सेल ११.११ मा ११ लाख उत्पादनहरूमा पाँच करोडसम्मको छुट प्रदान गरिने आइतबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिइएको छ।
उक्त अवसरमा ११ जनालाई टीभीस रेडर मोटरसाइकल जित्ने अवसर, र अन्य धेरै अफर दिइने कम्पनीको भनाइ छ। दराज एपमा कात्तिक २५ (नोभेम्बर ११) को दिन सुरु भइ २४ घण्टामा उक्त सेल चल्नेछ।
दराज प्रयोगकर्ताहरुलाई भव्य सेलमा भव्य मनोरञ्न र धेरै उपहारहरु जित्ने अवसर प्रदान गर्न सुरज सिंह ठकुरी, मालभिका सुब्बाका साथै ११ चर्चित सेलिब्रेटीहरू साथ दराजले कात्तिक २४ मा दराज एपमा ११.११ ग्राण्ड गाला लाइभ प्रत्यक्ष प्रसारण गर्ने पनि जनाएको छ।
कार्यक्रममा मुख्य वक्ताका रुपमा दराजका प्रबन्ध निर्देशक लिनो अहलेरिङ, चिफ कमर्सियल अफिसर टेम्पल प्याकुरेल, पेमेण्ट र पार्टनरसिप प्रमुख अरुण फुयाल र प्रमुख ग्राहक अधिकृत सम्झना सुवेदी रहेका थिए भने प्रमुख सञ्चारकर्मी र लोकप्रिय व्यक्तित्वहरूले अतिथिको रूपमा आफ्नो उपस्थिति राखेका थिए। कार्यक्रममा मुख्य वक्ताहरुले अहिलेसम्मकै सबैभन्दा ठूलो ११.११ आयोजना गराउने दराजको तयारीबारे जानकारी गराए।
'विश्वको सबैभन्दा ठूलो एकदिवसीय अभियान सेल ११.११ फेरि सुरु हुँदै छ। तर हाम्रो सम्पूर्ण टोली र हाम्रो प्लेटफर्ममा रहेका १२,०००+ बिक्रेताहरूले गत वर्षदेखि नै यसको लागि धेरै मेहनत गर्दै आएका छन्। देशको लागि एक कठिन वर्षपछि नेपालभरका ग्राहक तथा बिक्रेताहरूसँग यो विशेष दिन साझा गर्न पाउँदा हामी निकैनै खुसी छौं। किनभने उत्कृष्ट डिल, थुप्रै छुट र वर्षकै भव्य मनोरञ्जन अनि उत्कृष्ट ग्राहक अनुभव भनेकै ११.११ हो,' दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।