फाइल तस्बिर
काठमाडौं- दक्षिण एसियाको ठूलो फुटबल प्रतियोगिता मानिने साफ फुटबल प्रतियोगितामा पहिलोपटक फाइनल पुर्याएका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच सन् २०२४ सम्मका लागि आज सम्झौता भएको छ।
नेपाल फर्किएपछि पहिलोपटक अलमुताइरी आफैंले आह्वान गरेको पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मधुसुदन उपाध्याय र अलमुताइरीबीच नेपालको जर्सीसहित २०२४ सम्मका लागि औपचारिक सम्झौता भएको हो। साफ च्याम्पियनसिप अघि नेपाल नफर्किने भन्दै छाडेका प्रशिक्षक अलमुताइरी सम्झौता भएसँगै नेपाल फर्किएका हुन्।
आज भएको पत्रकार सम्मेलनमार्फत् उनी आगामी तीन वर्षको योजनासहित सार्वजनिक भएका हुन्।
साफअघि नेपालमै रहँदा पनि एन्फाका उपाध्यक्षसँगको विवादपछि राजीनामा दिने घोषणा गरेका अलमुताइरी गत साता कतार फुटबलसँगको सम्झौतापश्चात् नेपाल फर्किएका हुन्। नेपाली राष्ट्रिय टोलीसँगको नयाँ सम्झौतापछि आफू खुसी भएको बताउँदै उनले नेपाली समर्थक र खेलाडीको मायाले नेपाल फर्किएको बताए।
अलमुताइरीले प्राप्त गर्ने तलब कतार फुटबल संघले उपलब्ध गराउनेछ। एन्फाले नेपाल बस्ने क्रममा यातायात र सञ्चारका केही रकम दिँदै आएको छ। तीन चरणमा काम गर्ने योजना सार्वजनिक गरेका अलमुताइरीले सुरुआती पहिलो चरणको एसिया कप छनोटका कार्यक्रममात्र सार्वजनिक गरेका छन्। जसअन्तर्गत राष्ट्रिय टिमको प्रशिक्षक र मैत्रीपूर्ण फुटबल खेलको तालिका योजनामा रहेका हुन्। यस्तै विश्वकप छनोट २०२६ र एसिया कप छनोट २०२७ लाई लक्षित गरेर तीन वर्षको सम्झौता गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।