काठमाडौं- शनिबार राति सम्पन्न म्यानचेस्टर युनाइटेडसँगको खेलमा पराजय बेहोरेसँगै इंग्लिस क्लब टोटेनहमले आफ्ना मुख्य प्रशिक्षक नुनो इस्पिर्टो सान्टोलाई बर्खास्त गरेको छ।
शनिबार राति सम्पन्न खेलमा टोटेनहम युनाइटेडसँग ३–० ले पराजित भएको थियो। उक्त खेलमा पराजित भएसँगै क्लबले ४ वर्षको लागि सम्झौता गरेको सान्टोलाई ४ महिनामा नै बर्खास्त गरेको हो।
प्रिमियर लिगका पछिल्ला ७ मध्ये टोटेनहमले ५ खेलमा हार भोगेको छ। टोटेनहम अंक तालिकाको आठौं स्थानमा रहेको छ, शीर्षस्थानको चेल्सीभन्दा १० अंक पछाडि।
टोटनहमका फुटबल निर्देशक निर्देशक फाबियो पाराटिकीले उनलाई बर्खास्त गर्नुपर्दा दु:ख लागेको बताए।
‘मलाई थाहा छ नुनोले आफ्नो प्रशिक्षणमा क्लबलाई सफलता दिलाउन चाहान्थे,’ उनले भने,‘यो निर्णयका लागि दुःख लागेको छ।’
यता, टोटनहमले चेल्सीका पूर्वप्रशिक्षक एन्टोनियो कोन्टेलाई मुख्य प्रशिक्षक बनाउने तयारी थालेको छ।
बीबीसीका अनुसार ५२ वर्षीय कोन्टेले सोमबारपछि आमनेसामने वार्ता गर्ने बताइएको छ। मंगलबार जति सक्दो चाँडो घोषणा हुने समाचारमा जनाइएको छ।
उनले इटालियन सिरी ‘ए’ जितेको केही हप्तापछि मेमा इन्टर मिलान छाडेका थिए। उनले चेल्सीमा रहँदा प्रिमियर लिग र एफए कप जिताएका थिए। तर, जुलाई १०१८ मा चेल्सी खराब लयबाट गुज्रियपछि उनी बर्खास्तमा परे।
पूर्वमिडफिल्डरले २०११ देखि २०१४ सम्म युभेन्टसलाई प्रशिक्षण गरेका थिए। उक्त समय युभेन्टसले तीनवटा सिरी ‘ए’ उपाधि जितेको थियो।
२०१४ देखि २०१६ सम्म उनले इटालियन राष्ट्रिय टोलीको जिम्मेवारी पनि सम्हालेका थिए। कोन्टेले यसअघि पनि टोटेनहमसँग कुरा गरेका थिए। त्यसबेला क्लबले जोसे मोरिन्होको विकल्प खोजेको थियो।
तर, अन्तिममा कुरा नमिल्दा टोटेनहमले नुनोलाई भित्र्यायो। अहिले पुन: कोन्टे टोटेनहमको प्रस्ताव स्वीकार गर्न तयार भएका छन्।
स्काई स्पोर्ट्सका पूर्वखेलकुद पत्रकार फ्राबिज्यो रोमानोका अनुसार वार्ता चलिरहेको छ र ‘अन्तिम चरणमा’ पुगेको बुझिएको छ।
तलब र दीर्घकालीन सम्झौताबारे छलफल भइसको उनले जानकारी दिएका छन्। सम्झौता पूरा गर्नका लागि अबको केही घण्टामा वार्ता जारी रहने उनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।