काठमाडौं- रोनाल्ड कोम्यानलाई बर्खास्त गर्ने निर्णय हुने बित्तिकै क्याटलान क्लब बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले आफ्नो पूर्वमिडफिल्डर जाभी हर्नान्डेजलाई प्रशिक्षक बनाउने प्रयास थालेका थिए।
उनले जाभीलाई क्लबमा भित्र्याउनसके बार्सिलोनाको गुज्रिरहेको खराब लयमा सुधार आउने अपेक्षासमेत गरेका छन्।
तर, बार्सिलोनामा जाभीको आगमन अपेक्षा गरेभन्दा बढी समय लाग्ने भएको छ।
स्पेनिस खेलकुद अनलाइन मार्काका अनुसार दुवै पक्षहरू सम्झौता गर्न चाहन्छन्। तर, जाभी कतारी क्लब अल साद एससीसँगको सम्झौतामा बाँधिएका छन्।
अल सादको प्रशिक्षक रहेका जाभीले २०२३ सम्म सम्झौता गरेका छन्। उनी २०१९ देखि यस क्लबको मुख्य प्रशिक्षकका रुपमा काम गरिरहेका छन्।
हालको क्लब अल साद, क्याटलान प्रशिक्षक जाभीलाई रिलिज गर्न अनिच्छुक देखिएको छ।
मार्काका अनुसार कतारी क्लब बार्सिलोनाले सम्झौताका लागि गरेको व्यवहारबाट क्रोधित छ। क्लबका अनुसार कसैले प्रत्यक्ष रूपमा सम्झौता गरेका छैनन्।
बार्सिलोनाका अध्यक्ष लापोर्टाले र उनको बोर्डलाई पनि थाहा छ जाभीलाई सम्झौता बाँकी छदै बार्सिलोना फर्काउन कतारी क्लबसँग वार्ता गर्नुपर्नेछ।
यस विषयमा बार्सिलोना मौन बसेको छ भने कतारी क्लब अल सादले सामाजिक सञ्जाल ट्विटरमार्फत् आफ्नो मुख खोलेको छ।
'अल सादको व्यवस्थापनले जाभीसँग दुई वर्षको सम्झौता भएको पुष्टि गर्दछ र टोली अर्को खेलमा पूर्ण रूपमा केन्द्रित छ, क्लबलाई लिगको शीर्षस्थान कायम राख्न र उपाधि रक्षा गर्न,' क्लबले भनेको छ।
जाभी आफैं पनि सार्वजनिक रूपमा बार्सिलोनाको बोर्ड र स्पेनिस मिडियाले गरेको अनुमानबारे खुलेर बोल्न चाहेका छैनन्। उनको टोली पनि यस सिजन अपराजित छ।
बार्सिलोनाको बारेमा सोध्दा उनले जवाफ दिए, 'म अल सादसँगको मेरो काममा धेरै केन्द्रित छु र म अरू केही कुरा गर्न चाहन्नँ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।