काठमाडौं- पेरिस सेन्ट जर्मेन (पीएसजी) मा नि:शुल्क स्थानान्तरण भएको चार महिना बितिसक्दा पनि सर्जियो रामोसले लिग १ क्लबका लागि आधिकारिक डेब्यू गरेका छैनन्।
स्थिति यति खराब छ कि उनीहरूले रियल मड्रिडका पूर्वकप्तानसँग अलग हुने सम्भावनालाई अस्वीकार गर्न सकेका पनि छैनन्।
चेल्सीविरुद्ध च्याम्पियन्स लिग सेमिफाइनलको रिटर्न लेगमा रियल २-० ले पराजित हुँदा रामोस चोटका कारण मैदानबाट बाहिरिएका थिए। त्यसपछि मे ५ देखि आधिकारिक खेलमा उनी देखिएका छैनन्।
पीएसजीले स्पेनिस सेन्टर ब्याकसँग २०२३ सम्मको लागि सम्झौता गरको छ। उनलाई बीचमा अर्को क्लब पठाउन उनीसँग पीएसजीले अर्को सम्झौता गर्नुपर्छ।
यसबीचमा केही स्पेनिस मिडियाहरुले रामोसलाई अन्य क्लबमा स्थानान्तर गर्न लागेको समाचार पनि प्रकाशित गरेको छ।
तर, पीएसजीले यस समाचारलाई खण्डन गरेको छ। पीएसजीका खेल निर्देशक लियोनार्डोले उनी चाँडै नै मैदानमा फर्किनेमा आफू आशावादी रहेको प्रतिकृया दिए।
'हामीलाई थाहा छ रामोसलाई चोट लागेको छ,' लियोनार्डोले शुक्रबार लिलेमाथि पीएसजीको २-१ को जितपछि भने, 'स्पेनिस मिडियाले खेल खेल्दैछ, हामी सबैलाई थाहा छ उसलाई समस्या छ। हामीलाई थाहा छ यहाँ के भइरहेको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।