काठमाडौं– नेपालका थप चार जना प्रशिक्षक एसियाली फुटबल महासंघ (एएफसी) ए लाइसेन्स प्रशिक्षक कोर्षमा उत्तीर्ण भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसीको मातहतमा रहेर आयोजना गरेको एएफसी ए लाइसेन्स प्रशिक्षक कोर्षमा उनीहरु उत्तीर्ण भएका हुन्। यससँगै नेपालमा ए लाइसेन्स प्राप्त प्रशिक्षकको संख्या ३९ पुगेको छ।
एन्फाका अनुसार विष्णु गुरुङ, बालगोपाल साहुखल, राकेश श्रेष्ठ र मनिष तिम्सिनाले एएफसीको ए लाइसेन्स प्राप्त गरेका छन्।
प्रशिक्षक गुरुङ हाल संकटा क्लबमा मुख्य प्रशिक्षकको रुपमा कार्यरत छन् भने साहुखल च्यासलको प्रशिक्षक हुन्।
राष्ट्रिय टोलीका पूर्वकप्तान श्रेष्ठले यसअघि नेपाल महिला यू-१६ टोलीको जिम्मेवारी सम्हालिसकेका छन्। त्यस्तै, तिम्सिना भारतीय क्लब गोकुलम केरालामा गोलरक्षक प्रशिक्षक हुन्।
एएफसीले पछिल्लो समय शीर्ष श्रेणी लिगमा ए लाइसेन्स प्राप्त प्रशिक्षक अनिवार्य हुनुपर्ने नियम बनाएको छ। नेपालमा भने हाललाई बी लाइसेन्सले पनि शीर्ष डिभिजन लिग क्लब सम्हाल्न पाउँछन्। तर, एएफसीको क्लब लाइसेन्सिङ मापदण्ड पूरा गर्न क्लबसँग ए लाइसेन्स प्राप्त प्रशिक्षक अनिवार्य हुनुपर्ने नियम राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।