काठमाडौं- एएफसी यू-२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपाल लेबनानसँग पराजित भएको छ। ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा आज भएको खेलमा नेपाल लेबनानसँग ४-० गोलअन्तरले पराजित भएको हो।
लेबनानलाई जित दिलाउन जेइन फरानले दुई गोल गरे भने मोहमद नासिर र मोहमद हेइदरले एक/एक गोल गरे।
खेलको २६औँ मिनेटमा फरानले गोल गर्दै लेबनानलाई सुरुआती अग्रता दिलाए। खेलको ४७औँ मिनेटमा फरानले व्यक्तिगत दोस्रो गोल गर्दै लेबनानलाई २-० को अग्रता दिलाए। खेलको ७४औँ मिनेटमा मोहमद नासिरले गोल गर्दा लेबनान ३-० ले अघि रह्यो। त्यसपछि खेलको ८२औँ मिनेटमा हेइदरले गोल गर्दै लेबनानलाई ४-० को जित दिलाए।
प्रतियोगितामा नेपाल जितविहीन रह्यो। समूह 'बी'मा रहेको नेपालले पहिलो खेलमा इरानसँग ४-० गोलअन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा ताजिकिस्तानसँग ६-० गोलअन्तरले पराजित भएको थियो। नेपाल समूहको पुछारमा रह्यो। लेबनान ३ अङ्क जोडेर तेस्रो स्थानमा रह्यो।
यस समूहमा छ अङ्क जोडेको ताजिकिस्तान शीर्षस्थानमा रहेको छ भने समान छ अङ्क नै रहेको इरान दोस्रो स्थानमा छ। ताजिकिस्तान र इरानबीचको खेल आजै हुनेछ। यस समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्ने छन्। यस्तै दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोली पनि यू-२३ एसियन कपमा छनोट हुने छन्। उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता आगामी २०२२ को जुन १ देखि १९ तारिखसम्म हुने तालिका रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।