काठमाडौं- सरकारले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई सम्मान गरेको छ। युवा तथा खेलकुदमन्त्री महेश्वरराज गहतराजले मन्त्रालयमा आयोजित समारोहमा उनलाई नेपाली टोपी र खादा लगाएर सम्मान गरेका हुन्।
आल्मुताइरीको मुख्य प्रशिक्षणमा माल्दिभ्समा असोज १५ देखि ३० गतेसम्म भएको साफ फुटबल च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो। नेपाललाई पहिलोपटक साफ फुटबल च्याम्पियनसिपको फाइनलसम्म पुर्याउन उल्लेखनीय योगदान दिएबापत् युवा तथा खेलकुद मन्त्रालयले सम्मान गरेको हो।
उक्त प्रतियोगितामा नेपालसहित, माल्दिभ्स, भारत, श्रीलंका र बंगलादेशले भाग लिएका थिए। फाइनलमा भारतसँग ३-० ले पराजित भएपछि नेपाल उपविजेता बनेको थियो। सम्मान समारोहमा मन्त्री गहतराजले छोटो समयमै प्रशिक्षक अल्मुताइरी फुटबल खेलाडीमात्र नभएर सम्पूर्ण नेपालीको हृदयमा बस्न सफल भएको भन्दै प्रशंसा गरे।
उनले भने, 'नेपाल फर्किएकोमा खुसी लागेको छ, तपार्इं खेलाडीका लागि मात्र होइन, नेपालकै असल मित्र हुनुहुन्छ, सरकारले खेल क्षेत्रका समस्या बुझेको छ, सम्बोधन गर्न तयार छ।'
अल्मुताइरीको नेतृत्वमा नेपाली फुटबलको विकास र विस्तारमा थप महत्त्वपूर्ण योगदान पुग्ने उनको विश्वास छ। 'मन्त्रालय तपाईंको साथमा छ, तपाईं खेलाडीका साथमा हुनुहुन्छ,' मन्त्री गहतराजले अल्मुताइरीलाई भने।
युवा तथा खेलकुद मन्त्रालयका कामु सचिव कमल पोखरेलले प्रशिक्षक र खेलाडीको निरन्तरको अभ्यास एवं ठूलो मिहेनतबाट नेपालले सकारात्मक नतिजा प्राप्त गर्न सफल भएको बताए।
मुख्य प्रशिक्षक अल्मुताइरीले समग्र खेलाडी र आफ्नो कडा परिश्रमबाट नेपालले फुटबलमा उच्चस्तरको नतिजा हासिल गरेको प्रतिक्रिया दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।