काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार सम्पन्न खेलमा सुरुआती दुई गोलको अग्रता जोगाउन नसक्दा लिभरपुल बराबरीमा रोकिएको छ।
घरेलु मैदानमा भएको खेलमा लिभरपुल ब्राइटनसँग २-२ गोलको बराबरीमा रोकिएको हो।
एनफिल्ड भएको खेलको चौंथो मिनेटमा जोर्डन हेन्डरसनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। २४ औं मिनेटमा साडियो मानेले गोल गरेपछि लिभरपुल २-० को अग्रता बनाएको थियो।
तर, ४१औं मिनेटमा इनोक एमवीपुले गोल गर्दै ब्राइटनलाई २-१ को स्थितिमा ल्याए।
त्यसपछि ६५औं मिनेटमा लिन्ड्रो ट्रोसार्डले गोल गर्दै ब्राइटनलाई २-२ गोलको बराबरीमा फर्काए। बाँकी समयमा गो हुन नसक्दा दुवै टोलीले अंक बाँडे।
यस बराबरीसँगै लिभरपुलले १० खेलमा २२ अंक जोडेको छ। लिभरपुल दोस्रो स्थानमा रहेको छ। ब्राइटन १६ अंक जोडेर छैटौं स्थानमा रहेको छ।
शनिबार नै सम्पन्न अर्को खेलमा साविक विजेता म्यानचेस्टर सिटी पराजित भएको छ।
१० खेलाडीमा समेटिएको सिटी घरेलु मैदानमा क्रिस्टल प्यालेससँग २-० ले पराजित भएको हो। प्यालेसका लागि विल्फ्रिड जाहाको खेलको छैटौं मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए।
पहिलो हाफको इन्जुरी समयमा एम्रिक लापोर्टेले रातो कार्ड पाएपछि सिटी १० खेलाडीमा समेटियो।
प्यालेसका जाहालाई फउल गरेपछि रेफ्रीले लापोर्टेलाई रातो कार्ड देखाएका थिए।
८८औं मिनेटमा कोनर गलाघरले गोल गर्दै प्यालेसलाई २-० को जित दिलाए। जितसँगै प्यालेसले १० खेलमा १२ अंक जोडेको छ। प्यालेस १३औं स्थानमा रहेको छ।
सिटी २० अंकका साथ तेस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।