काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी शनिबार नेपाल आइपुग्ने भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)सँग थप दुई वर्ष सम्झौता नवीकरण गरेपछि प्रशिक्षक अल्मुताइरी नेपाल आउन लागेका हुन्।
एन्फाका अनुसार उनी आज राति ७:३० बजे काठमाडौं आइपुग्ने छन्।
यता, अल्मुताइरीले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू नेपाल फर्किन लागेको जानकारी दिएका छन्।
अल्मुताइरीले एन्फासँग थप दुई वर्षको सम्झौता नवीकरण गरेका थिए। यता, उनीसँग यस अगाडि नै एक वर्षको सम्झौता बाँकी छ।
अल्मुताइरीले गत महिना माल्दिभ्सको राजधानी मालेमा सम्पन्न १३औं साफ च्याम्पियनसिपमा नेपाललाई पहिलोपटक फाइनलमा पुर्याएका थिए।
तर, नेपाल फाइनलमा भारतसँग ३-० ले पराजित हुँदै विजेता बन्न चुक्यो।
फाइनल अघि बंगलादेशसँग भएको खेलपछि अल्मुताइरीले आफूले एक महिना अगाडि नै एन्फालाई राजीनामा बुझाइसकेको खुलासा गरेका थिए। उनले भारतसँग हुने खेल नै नेपालको लागि आफ्नो अन्तिम खेल भएको बताएका थिए।
यद्यपि, उनलाई मनाउन एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र महासचिव इन्द्रमान तुलाधार माले पुगेका थिए। मालेमा भएको छलफल पछि उनी नेपाल फर्किन तयार भएका थिए। यद्यपि, विश्राम चाहिएको भन्दै उनी मालेबाट कुवेत फर्किए।
उनीसँगै शेर्पा पनि कुवेत पुगेका थिए। कतार फुटबल एसोसियसनसँग छलफलपछि आफू एन्फासँग दुई वर्षे सम्झौता गर्न तयार भएको र अबको तीन वर्ष नेपाल बस्ने अल्मुताइरीले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।