काठमाडौं- अन्तर्राष्ट्रिय खुला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी)को १३औं संस्करण अमेरिकाको मिचिगनमा हुने भएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो।
आईओएफटीसीको प्रायोजनमा मिचिगनको एभरेस्ट तेक्वान्दो संघले आयोजना गर्न लागेको प्रतियोगिता मे १३ देखि १४ तारिखसम्म हुने प्रतियोगिता संयोजक लवप्रसाद गोर्खालीले जानकारी गराए।
यसअघि प्रतियोगिता २०२० को मे १ र २ तारिखका लागि मिचिगनमै हुने तय भएपनि विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण स्थगित गरिएको थियो। उक्त प्रतियोगिताका लागि नेपालबाट सहभागी हुने पाँच खेलाडीसमेत छनोट गरिएको थियो।
‘नयाँ छनोट गर्ने वा तिनै खेलाडीलाई सहभागी गराउने भन्ने विषयमा टुंगो लागेको छैन। उनीहरुको ट्रेनिङको अवस्था बुझ्छौं अनि छलफल गरेर निर्णय गछौं,’ संयोजक गोर्खालीले भने, ‘छनोट गरेको लामो समय भएकाले सकभर नयाँ छनोट गर्नेमै हाम्रो जोड हुनेछ।’
प्रतियोगितामा २० राष्ट्रका ६०० भन्दा बढी खेलाडीको सहभागिता रहने बताइएको छ। सिनियर र जुनियरमा गरी ६५ स्वर्ण, ६५ रजत र १३० कांश्यका लागि प्रतिस्पर्धा हुनेछ। तीन पुरुष र दुई महिला गरी नेपालबाट पाँचजना खेलाडीलाई सहभागी गराइनेछ।
विगतका १२ संस्करणमध्ये अमेरिकामा पाँच, नेपालमा चार तथा भारत, बेलायत र हङकङमा एक–एक पटक प्रतियोगिता भएको थियो। आयोजकका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब एक करोड २० लाख रुपैयाँ खर्च हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।