काठमाडौं- अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको इन्टरनेसनल ओपन फ्रेण्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले टोकियो पारालिम्पक-२०२० मा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबर्द्धनलाई सम्मान गरेको छ। शुक्रबार एक समारोहबीच नगद एक लाख एक हजार रुपैयाँसहित सम्मान पलेशालाई सम्मान गरिएको हो।
टोकियो पारालिम्पकमा नेपालबाट सहभागी एक मात्र खेलाडी पलेशा मुख्य ‘ड्र’को पहिलो खेलमा बेलायतकी खेलाडीसँग पराजित भएकी थिइन्। रिपाचेजमा पुनः अवसर पाएकी पलेशाले पहिलो खेलमा अमेरिका र दोस्रोमा सर्बियाकी खेलाडीलाई हराउँदै कांश्य पदकनजिक पुगेकी थिइन्। काश्य पदकको भिडन्तमा पलेशा चीनकी खेलाडीसँग चुकेकी थिइन्।
पलेशासँगै प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्ट पनि नगदसहित सम्मानित भए। २०१५ देखि पारा तेक्वान्दो खेलाडीलाई प्रशिक्षण दिन सुरु गरेका अन्तर्राष्ट्रिय लेभल २ प्रशिक्षक लामा र विष्टलाई जनही ५१ हजार रुपैयाँ नगद प्रदान गरियो।
संघीय सांसद नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उनीहरुलाई पाटन माविमा आयोजित एक कार्यक्रमबीच नगद र प्रशंसापत्र प्रदान गरे। सोही अवसरमा पलेशाको प्रशिक्षणका बेला फिजियोथेरापिस्ट रहेकी नेहा शाह, नेपाली पारा तेक्वान्दोमा योगदान पुर्याएबापत् जनार्जन ढुंगेल र हाल क्यानाडामा रहेका पूर्वपारा तेक्वान्दो प्रशिक्षक कल्याण कुँवरलाई पनि प्रशंसापत्रबाट सम्मान गरिएको थियो। आईओएफटीसीको आईओएफटीसी टिम नेपालमार्फत् सबैलाई सम्मान गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले पारा खेलाडीको स्तर वृद्धिका लागि नेपाल पारा ओलम्पिक कमिटीले अझ सक्रियता बढाउनुपर्नेमा जोड दिए।
पलेशाले पदक नजिते पनि आफ्नो प्रदर्शनबाट देशवासीलाई हर्षित तुल्याउन सफल भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पदकका लागि अझ बढी मिहेनत गर्ने बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।