काठमाडौं- नेपाल सीआरएस कम्पनीले पहिलोपटक डडेलधुरामा ‘फ्रिडम’ ब्राण्डको नामबाट वातावरणमैत्री सेनिटरी प्याडको शुभारम्भ गरेको छ।
बिहीबार डडेलधुराको अमरगढी नगरपालिका-७ पोखरामा रहेको उग्रतारा माविमा एक भव्य कार्यक्रमबीच सेनिटरी प्याडको शुभारम्भ गरिएको हो।
अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझा, जर्मन दूतावासका उपप्रमुख साइमन हेन्केले, केएफडब्लूका प्रमुख शंकरराज पाण्डेय, मिस नेपाल वर्ल्ड २०१५ इभाना मानन्धर लगायतले विद्यालयका छात्राहरूलाई एक साथ प्याड हस्तान्तरण गरेका हुन्।
ग्रामीण क्षेत्रमा मातृ तथा बाल शिशु स्याहार सुधार आईसीएमसीसीआर कार्यक्रमअन्तर्गत महिला तथा किशोरीहरूको महिनावारी स्वच्छता व्यवस्थापन र सुधारका लागि वातावरणमैत्री सेनिटरी प्याडको शुभारम्भ गरिएको कम्पनीले जनाएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र जर्मन सहयोग केएफडब्लूबीचको सहकार्यमा प्याड वितरण सुरु गरिएको सीआरएसका प्रबन्ध निर्देशक जीवलाल पोखरेलले जानकारी दिएका छन्। यो कार्यक्रम सुदूरपश्चिम प्रदेशको डडेलधुरासहित बैतडी, डोटी र बझाङमा लागू छ।
यस कार्यक्रमले विद्यालयका छात्रालगायत महिलाहरूमा महिनावारीका बेला सकारात्मक परिवर्तनको ज्ञान दिने अपेक्षा लिइएको छ। कार्यक्रम सञ्चालन भएका जिल्लामा वातारणमैत्री प्याड सुपथ मूल्य र सहजै उपलब्ध गराउनुका साथै महिनावारी भएका बेला स्वस्थ रहन र स्वच्छ वातावरण बनाउन व्यवस्थापनमा सहयोग पुर्याउने लक्ष्य लिइएको छ।
अमरगढी नगरपालिका डडेलधुराका नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले नेपाली समाजमा व्याप्त सामाजिक विभेद् अन्त्य गर्न बायोडिग्रेडेबल प्याडले सामाजिक बजारीकरणले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। साथै, यो भेद्भाव अन्त्य गर्न सबैजना विशेषगरी समुदायका पुरुष सदस्यहरू एकजुट हुनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।