काठमाडौं- नेपाली राष्ट्रिय यू-२३ फुटबल टोली ताजिकिस्तानमा जारी एएफसी यू-२३ एसियन कप छनोट प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको छ।
बिहीबार आयोजक ताजिकिस्तानसँग ६-० को फराकिलो हार बेहोर्दै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।
रिपब्लिकन सेन्ट्रल स्टेडियममा भएको खेलमा ताजिकिस्तानलाई जित दिलाउन शेर्भोनी माबत्शोएभ, शारफजोन सोलेहोभ, रुस्तम सोइरोभ, मुखम्मादली अजिजबोएभ, भाख्दुत खानोनोभ र इमोमाली अखामादखोनले एक/एक गोल गरे।
पहिलो हाफमा ३-० ले पछि परेको नेपाली टोलीले दोस्रो हाफमा पनि ३ गोल खाएको थियो। खेलको २४औं मिनेटमा शेर्भोनीले गोल गर्दै ताजिकिस्तानलाई सुरुआती अग्रता दिलाए।
३३औं मिनेटमा सोलेहोभले गोल गर्दै अग्रता दोब्बर बनाए। ४१ औं मिनेटमा रुस्तमले गोल गरेपछि घरेलु टोली ताजिकस्तान पहिलो हाफमा ३-० ले अघि रह्यो।
६३औं मिनेटमा अजिजबोएभले गोल गर्दै ताजिकिस्तानलाई ४-० को अग्रता दिलाए। ६८औं मिनेटमा खानोनोभले पेनाल्टीमा गोल गर्दै ५-० को सहज जिततर्फ अगाडि बढाए।
७२औं मिनेटमा अखामादखोनले गोल गर्दै ताजिकिस्तानलाई ६-० गोलको आरामदायी जित दिलाए।
जारी प्रतियोगिताको पहिलो खेलमा इरानसँग ४-० ले पराजित भएको थियो। अब नेपालले अन्तिम खेलमा नेपालले लेबनानसँग आइतबार खेल्नेछ।
समूह ‘बी’ अन्तर्गत बिहीबार नै भएको पहिलो खेलमा इरानले लेबनानलाई २-० ले पराजित गरेको छ। पहिलो खेलमा ताजिकिस्तानसँग १-० ले पराजित लेबनान पनि प्रतियोगिताबाट बाहिरिसकेको छ।
इरान र ताजिकिस्तानको ६/६ अंक हुँदा नेपाल र लेबनान अंकविहिन छन्। नेपाली टोली अघिल्लो दुवै प्रतियोगितामा गोलविहिन भएर स्वदेश फिर्ता भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।